पहिले जस्तो हुदैन डालो–नाङ्लोको ब्यापार
काेराेला पोस्ट मंसिर २६, २०८० मंगलबार

म्याग्दी, २६ मंसिर । स्थानीय स्रोतसाधन प्रयोग गरेर निर्माण गरेका सामाग्रीको प्रयोग कम हुँदै गएको छ। बसाईसराई र रोजगारीले ग्रामिण भेगमा कृषि खेती गर्ने कम हुँदै गएपछि पछिल्लो सयम त्यसको असर डालो र नाङ्लोको ब्यापारमा पनि परेको छ।
बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वर शिवालय मन्दिरमा लाग्ने मेलामा तनहुँबाट नाङ्लो लिएर राम भुजेल आउनुभएको छ । उहाँले सोचे जस्तो ब्यापार नभएको सुनाउनुभयो। मन्दिरमा भक्तजनको भिड छ तर डालो–नाङ्ला किन्ने ग्राहक कम हुँदै गएका छन् ।

त्यस्तै, गोरखाबाट डाली लिएर पहिलो चोटी गलेश्वर मेलामा आउनुभएकी कान्छी गुरुङपनि मेलामा राम्रो ब्यापार नहुदाँ आउने जाने खर्च पनि उठाउन मुस्किल भएको गुनासो गर्नुभयो । आफै निर्माण गरेको सामाग्री विभिन्न मेलामहोत्सवमा लगेर ब्यापार गरेर भएको आम्दानीबाट परिवारको जिविकोपार्जन गर्ने ब्यापारीहरुले राम्रो ब्यापार नहुदाँ चिन्तामा छन् । पहिले जस्तो डालो बिक्रीनै हुन सकेको छैन् । केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डालोहरु पछिल्लो समय यसको बजारलाई नया प्रविधिको सामानले लोकप्रियता कम गराउँदै गएको उहाँको भनाई थियो ।

त्यस्तै बागलुङको काठेखोलाबाट नाङ्लो लिएर आउनुभएका पुर्णबहादुर थापा पहिले जस्तो ब्यापार नहुदाँ विस्तारै यो पेशा लोप हुने खतरा बढेको बताउनुभयो । बजारमा नयाँ–नयाँ प्रविधिका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजारमा विक्रि कम भएको थापाको भन्नुभयो । “यसले गर्दा पनि होला गाउँघरमा उत्पादन हुने परम्परागत सामाग्रीको प्रयोग हराउँदै गए, बनाएका पनि बिक्री हुन छोडे ।”

पछिल्लो समय आयातित सामग्रीले गर्दा आफूहरुले बनाएका डालो नाङ्लोले बजार पाउन जोडेको थापाले उल्लेख गर्नुभयो । अहिले बजारमा डालो नाङ्लो सबै रबरका आउन थाले, हाम्ले बुनेका डालो नाङ्लोले बजार पाउनै छोडे उहाँले भन्नुभयो ।
अहिलेका युवापुस्ताले यसप्रति चासो देखाएका छैनन् ।

आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो नाङ्लो लोप हुन सक्ने उहाँको भनाई थियो । आधुनिक प्रविधिले सबै खालका सामग्री निर्माण गरेपछि परम्परागत सीपले बनेका सामाग्र्री मेला महोत्सवमा विक्रि कम हुँदै जादा पेशा लोप हुने खतरा बढेको ब्यापारी बताउछन् ।