म्याग्दी, ८ जेठ । बेनी नगरपालिकाले नगरको प्रमुख आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि आय ठेक्का मार्फत नदीजन्य सामाग्री विक्रि गरेको छ । नगरपालिकाभित्र रहेका ९ वटा बगरको प्रारम्भीक बातावरणीय प्रभाब परिक्षण गरी न्यूनतम करिब रु ७३ लाख आय हुने अनुमान गरिएको थियो ।
चार पटक बोलपत्र आह्वान हुँदा समेत कुनै पनि कम्पनीले गिटी, बालुवा, रोडा लगायतका नदिजन्य सामाग्रीको उत्खनन, संकलन तथा बिक्रि वितरणका लागि ठेक्का नहालेपछि तीन वटा बगरलाई मात्रै नगरपालिकाले आय ठेक्का मार्फत नदिजन्य पदार्थको उत्खनन् तथा विक्रि गरेको हो ।

पटक–पटकको बोलपत्र आह्वानमा कसैले पनि ठेक्का नहालेपछि वैशाख ८ गतेको कार्यपालिका बैठकले नगरपालिकाको राजश्वलाई मनन् गरेर बेनी नगरपालिका–५ बगुवाखोला, वडा नम्बर ७ अग्नीखेत र वडा नम्बर ९ गलेश्वरको मजुवा बगरको नदिजन्य सामाग्री उत्खनन् तथा विक्रि गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । अनुगमनका क्रममा नदीजन्य बस्तुको नियम विपरित उत्खनन् गरिएको भेटिएको बताए ।
कार्यपालिका बैठकको निर्णय अनुसार, निवेदन दिन आएका निर्माण कम्पनीलाई टायरवाला ब्याकुलोडर मात्रै प्रयोग गरेर शुन्य दशमलब ९० मिटर गहिराईमा मात्रै नदिजन्य पदार्थ उत्खनन् गर्न निर्माण कम्पनीलाई नगरपालिकाले दिएको कार्यदेशमा उल्लेख गरिएको छ ।
नगरपालिकाले बगुवाखोलामा न्यू बानियाँ निर्माण सेवालाई कर बाहेक रु २३ लाख २६ हजार १५१ मा ७ हजार १२८ घनमिटर परिमाण उत्खनन् गर्ने गरी विक्रि गरेको छ । त्यसैगरि अग्निखेत बगरलाई कालिका इन्फ्रास्ट्रक्चर प्रालिलाई रु ६ लाख ५५ हजार ३२८ मा २ हजार४१ घनमिटर परिमाण उत्खनन् गर्ने गरि विक्रि गरेको छ । त्यसैगरि मजुवा बगरलाई एपेक्स खड्का कृष्ण जेभिलाई रु १० लाख ५२ हजार ८९७ मा ३ हजार ६ सय घनमिटर उत्खनन गर्ने गरि विक्रि गरेको छ ।
बानियाँ निर्माण सेवालाई जेठ ७ गतेदेखि १५ गतेसम्म, कालिकालाई जेठ ४ गतेदेखि २९ गतेसम्म र एपेक्स खड्का कृष्ण जेभिलाई जेठ ४ गतेदेखि २९ गतेसम्म उत्खनन् अनुमति दिईएको नगरपालिकाले जनाएको छ । बगुवाखोला र गलेश्वर मजुवामा उत्खनन् गर्ने निर्माण कम्पनीले कार्यदेश विपरित चेन भएको डोजर प्रयोग गरेको भेटिएपछि नगरपालिकाले स्थलगत रुपमा अनुगमन गरि उत्खनन् कार्यमा सम्झौता बमोजिमका मेसिन, उपकरण मात्रै प्रयोग गर्न सचेत गराएको छ ।
सामाजिक सञ्जालहरुमा निर्माण कम्पनीले नियम विपरित उत्खनन् भैरहेको सूचना तथा तस्बिर राखेपछि अनुगमन गरिएको र कार्यदेश अनुसारका परिमाण र स्वरुपमा उत्खनन् गर्न समेत सचेत गराइएको नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताईन । नगरपालिकाले दिएको कार्यदेशमा नदिजन्य पदार्थहरु उत्खनन् गर्दा वातावरणमा प्रतिकुल प्रभाब पार्ने काम नगर्ने सर्त राखिएको छ ।
राज्यको प्रमुख आम्दानीको स्रोत मानिने नदीजन्य बस्तुको टेण्डर विना चोरी निकासी गरेपनि जनप्रतिनिधि, कर्मचारी, प्रशासन, सुरक्षा निकाय म्याग्दीमा मौन हुन्छन् ।