जनस्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने : विद्यालय बन्द नहुने
Koralapost पुस २७, २०७८ मंगलबार

म्याग्दी २७ पुस । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागु गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो ।

जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवालाहरुको सल्लाह बमोजिम जिल्लामा कोभिडको संक्रमण भयाबह र डरलाग्दो अबस्थामा नपुगेकाले तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । डिसिएमसीका संयोजक समेत रहनुभएका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिनुभयो ।

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामाग्रीसंगै जनशक्तिलाई तयारी अबस्थामा राख्ने निर्णय समेत गरेको छ । जिल्लाव्यापी रुपमा कोरोना संक्रमणबाट बच्च र बचाउन तपाईको मास्क खोई ? अभियान चलाउने,सञ्चार माध्ययम मार्फत प्रचार प्रसार गर्ने, सामाजिक र भौतिक दुरी कायम गर्न लगाउने, २५ जना भन्दा बढी मानिस जम्मा भएर कुनैपनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेलाहरु नगर्ने र गर्न रोक लगाउने निर्णय समेत गरिएको छ ।

बैठकमा जिल्ला स्थित राजनीतिक दल, स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैठकमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिीकी अध्यक्ष थमसरा पुन मगर,मंगलाकी उपाध्यक्ष सिर्जना केसी, मालिकाकी उपाध्यक्ष खरमायाँ विटालु र अन्नपूर्णकी उपाध्यक्ष केशमायाँ मगरले स्थानीय तहमा कोभिड रोकथाम र उपचारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष देबेन्द्र केसी, नेपाली कांग्रेसका सचिव हिरा पुन, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा संघ संस्थाका प्रतिनिनिधले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्डको पालनालाई कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।