बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन
Koralapost बैशाख ७, २०७८ मंगलबार

       

म्याग्दी, ७ बैशाख । सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन गरिएको छ। अक्सिजन उत्पादन केन्द्रबाट सिधै विरामीहरु उपचार गर्ने शैयासम्म पाईपबाट अक्सिजन आपुर्ति गराउन सुरु गरिएको हो ।

अक्सिजन प्लान्ट र अक्सिजन भर्ने बुष्टर मेसिन गरिद गरेर जडान गरेसंगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा संचालन भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । आकस्मिक, मृगौला डायलाइसिस, सघन उपचार कक्ष, बहिरंग विभागका शैयाहरुमा अक्सिजन आपुर्ति गराउन पाईपलाई जडान गरिएको जानकारी दिए । बेनी अक्सिज उत्पादन सुरु गरेपछि आकस्मिक विरामी लगायत अन्यलाई पनि सहज भएको अस्पतालले जनाएको छ ।

बेडसम्म गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका ३० वटा शैयाहरुमा अक्सिजन पाईप जडान गरिउको अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

प्लाण्ट स्थापनाको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको रु ७५ लाख बजेटमध्ये टेण्डर मार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो । त्यसैगरि केन्द्रको भवन लगायतको पूर्वाधार निर्माणमा मन्त्रालयबाटै रु ५ लाख बजेट उपलब्ध भएको र अक्सिजन भर्ने बुष्टर मेसिन उपकरण खरिदमा रु १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिए ।

अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस बर्ष रु १० लाख बजेट विनियोजन भएको छ । अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसंगै नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका स्वासप्रश्वास, दमका विरामीसंगै जटिल रोगका विरामीको उपचारमा सहजता हुने डाक्टरको भनाई छ । दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाईएको छ । अस्पतालमा रहेको आइसीयूमा समेत एसी र भेन्टीलेटरका उपकरण थप गर्ने तयारी भएको छ ।