मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे समयमै गर्न माग
Koralapost बैशाख ५, २०७८ आईतबार


म्याग्दी, ५ बैशाख । सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनालाई पुर्णताको माग गर्दै स्थानीयबासी आन्दोलित बनेका छन् । समयै कालोपत्रे नहुदाँ मंगलघाटबासी धुलो र हिलोले आजित भएपछि सडक निर्माणका लागि दवावस्वरुप शुक्रबार आन्दोलित भएका हुन् ।

मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजनालाई पुर्णता दिन माग सडकमा एक घण्टा चक्काजाम र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । मंगलाघाट टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले संयुक्त आन्दोलन गरेको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको मंगलाघाट देखि बेनी नगरपालिकाको वडा नम्बर २ को हाडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति, साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।

मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका र हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको योजनाको म्याद २०७७ माघमा सकिएपनि निर्माण ब्यवसायीले काम सूचारु गर्न बेवास्ता गरेका छन् ।

निमार्ण कार्यमा ढिलासुस्ती भएका कारण स्थानीयबासी आन्दोलित भएका छन् बेनपाका मेयर हरिकुमार श्रेष्ठले बताए । कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट ब्यवस्थापन नहुँदा आयोजनाको काम प्रभावित भएको निर्माण ब्यवसायीको तर्क छ । हालसम्म दुई करोड रुपैयाँ भुक्तानी लगेका निर्माण ब्यवसायीले करिब डेढ वर्षपछि यसै हप्तादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरु गरेका छन् ।

२०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान गरेका निर्माण ब्यवसायीले बैशाख महिनाभित्र कालोपत्रे पनि गरिसक्ने देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले बताए । चालु आर्थिक वर्षमा असी लाख रुपैयाँ बिनियोजन भएको योजनाका ठेकेदारले यसअघि गरेको कामको समेत भुक्तानी नभएको जानकारी छ ।