२५ लाख लगानीमा हाते कागज उद्योग संचालन
काेराेला पोस्ट जेष्ठ १४, २०८२ मंगलबार

म्याग्दी, १३ जेठ । मालिका गाउँपालिका– ६ दरबाङका मोतिराज गौतमले २५ लाख लगानीमा नेपाली हाते कागज उद्योग सञ्चालन गरेका छन् । स्थानीय वनजंगलमा पाईने कच्चापदार्थको सदुपयोग गर्ने उद्देश्यले हाते कागज उद्योग संचालन गरेका हुन् ।
२०७० सालमा मालिका गाउँपालिका–३ अदिभारामा सामुहिक रुपमा उद्योग सञ्चालन गरिएको थियो । केही वर्षदेखि बन्द भएको उद्योग २०७६ सालदेखि गौतमले एकल स्वामित्वमा लिएर निरन्तरता दिएका छन् । मालिका कागज उद्योग दर्ता गरेर जङ्गलमा खेर गएको लोक्ताबाट बनाइने नेपाली कागज आजकल सरकारी कामकाजका लागि प्रयोगमा आउन थालेको छ । पछिल्लो समय हाते कागज मागअनुसार उत्पादन गरिदै आएको गौतमले बताए । उद्योगमा चारजना कामदार समेत छन् ।


परम्परागत सिप र प्रविधिमा आधारित कागज उद्योग सञ्चालन गरेर गौतमले वार्षिक रुपमा १५ देखि २५ लाखसम्मको कागज बिक्री गर्दै आएका छन् । गत कात्तिकदेखि ४१ वर्ष लामो शिक्षण पेशाबाट अवकास लिएर गौतमले मालिका गाउँपालिका ५ स्थित थापाचौरमा पाँच रोपनी जमिन भाडामा लिएर मालिका कागज उद्योग दर्ता गरेर कागज उत्पादन गर्दै आएका छन् । बिहानदेखि बेलुकासम्म मोतीराज र उन्को श्रीमती ताराकुमारी गौतम कागज उद्योगमा ब्यस्त हुन्छन् ।

‘‘लामो समय शिक्षण पेशामा बिताइयो । आफ्नै गाउँघरमा केही न केही उद्योग सञ्चालन गरौं भन्ने लाग्यो । यसअघि सामुहिक रुपमा सञ्चालन गरेको कागज उद्योग केही वर्ष पहिलादेखि बन्द थियो । उद्योगले तिर्नुपर्ने सात लाख रुपियाँ ऋण आफैँले भुक्तानी गरेर अहिले एकल रुपमा पुनः उद्योग सञ्चालन गरेको छु ।’’– उनले भने ।

अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजारदेखि टाढा भएकाले थापाचौरमा स्थानान्तरण गरेको उद्योगका सञ्चालक गौतमले बताए । ‘‘आठ महिना यता उद्योगले पुनः व्यावसायिक उत्पादन सुरु गरेको छ । यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा चुनौति छ ।’’ एक बण्डल कागजको दुई सय रुपियाँमा बिक्री हुने गरेको छ । कागजको माग उच्च छ । ‘‘दिनभर दुईजनाले काम गर्दा पाँच सयदेखि सात सय प्रति पेपर उत्पादन गर्न सकेका छौं ।’’ फ्रेममा लेदो राखेर चारदेखि पाँच घण्टा घाममा सुकाएपछि कागज तयार हुने उनले बताए । रङ्गिन कागज पनि उत्पादन सुरु गरेका छौ । दूई हजार चारसय मिटर उचाई अन्तरगत वनजंगलबाट कच्चा पदार्थ लिईन्छ । रुम र डाँडा गाउँमा रहेको सामुदायिक वनबाट लोक्ता सङ्कलन गरेर ल्याउने गरेको उन्ले बताए । लोक्ता सङ्कलन गर्ने सामुदायिक वन उपभोक्ता समुहलाई प्रतिकेजी एक सय रुपियाँका दरले भुक्तानी गर्ने गर्दै आएका छौ । उद्योग संचालनका लागि दुईबर्ष पुग्ने कच्चा पदार्थ स्टक रहेको छ ।

२० ग्रामको कागज कार्यालय प्रयोजनका लागि र ७ ग्रामको बाटेको धुप बनाउनका लागि धेरै माग आउने गरेको उन्ले बताए । चिना लेख्ने कामका लागि प्रयोग हुने ४० ग्रामको कागज उत्पादन गर्छौ । उत्पादन गर्न सकेमा वार्षिक रुपमा १५ देखि २५ लाख रुपियाँसम्मको कागज बिक्री हुने उद्योग सञ्चालक गौतमले बताए । कागज उद्योगमा अहिले ६ सय वटा फ्रेम छन् । आकासबाट पानी आउँदा कागज सुकाउन दुईवटा प्लास्टिक टनेल निर्माण गरेका छौँ । चालु आर्थिक वर्षमा मालिका गाउँपालिकाले उद्योगको स्तरीकरणका लागि साढे दुई लाख रुपियाँ सहयोग गरेपछि गोदाम घर लगायतका पूर्वाधार बनाएको बताए ।

उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसकारी कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्नेछ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको बताए । उत्पादन भएको कागज बेनीसंगै म्याग्दीका स्थानीय तह, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको गौतमले बताए ।

उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चापदार्थ लोक्ता अभाव, विद्युतको अनियमितता, उपकरण फ्रेम मर्मत सम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाइ छ । उद्योगमा हाल बोयल मेशिन, कटर, बिटर मेशिन र लोक्ता पकाउने मेशिन भएको र भविष्यमा उद्योगलाई आवश्यक पर्ने अन्य मेशिनहरु थप्ने योजना रहेको जानकारी गराए । स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने उन्को भनाइ छ ।

म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन् । लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनजङ्गलमै खेर गएको छ । स्थानीय स्तरमा सञ्चालित साना उद्योगहरुको स्तरीकरणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । चालु आर्थिक वर्षमा उक्त कागज उद्योगको स्तरीकरणका लागि साढे दुई लाख रुपियाँ अनुदान उपलब्ध गराएको बताए । त्यस्तै गण्डकी प्रदेश सरकारले पनि मेशिन खरिदका लागि एकलाख पचास हजार रुपैयाँ अनुदान उपलब्ध गराएको गौतमले बताए ।
वनजंगलबाट कच्चा पदार्थ ल्याउन र उत्पादीत कागज बजारमा पठाउन कानुनी रुपमा प्रक्रिया झन्झटिलो रहेको छ ।