म्याग्दी, ९ जेठ । आजकल घरगाउँको चुलोमा मकैको आटो पाक्दैन् । चुलोको वरीपरि बस्ने पुरै परिवारको सदस्य भेटिदैन् । बनबाट दाउराको भारी बोकेर आउँने ब्यक्ति भेटिदैन् । एतिहासीक महत्व बोकेका चौतारी एक्लो छ । बुढ्यौली र तन्नेरीका दौतरी विहिन चौतारी बन्नेक्रम बढ्दो छ। गाउँभरीका मिलेर खाने मौलिक ढुंगे धारोमा पानी लिन लस्करै गाउँरा बोकेर पुग्ने युवायुवती भेटिदैनन् । गाउँमा १० बर्ष मुनिका बालबच्चा र ५० बर्ष माथिका बुवाआमा पातलो रुपमा भेटिन्छन् ।
आजकल गाउँमा कति मुरी धान, मकै, कोदो लगायतको खाद्यान्न उत्पादन भयो भन्ने कुरा हुँदैन्। गोठमा गाईभैँसी, बाख्रा र कुखुरा कति पालन गरिएको छ भन्ने कुरा हुँदैनन् । खाद्यान्न उत्पादन पनि कम हुँदै गएको छ । बनतिर घासँदाउराँ ल्याउने समयमा हिड्ने साथीको अभाव छ। बनमा पाकेका फलफूलले पुर्खाहरुको सन्तती खोजीरहेको छ ।
गाउँका गोठकटेरामा गाईभैसी छैनन् बरु छन् त आना बेचेर किनिएका भटभटे जसलाई जतनले राखिएका छन्। घरघरमा प्रतिस्पर्धा छ मोटरसाइकल र गाडी किन्नेहरूको। जग्गा टुक्रयाएर घडेरी र पसिना बेच्दै किनिएका गाडीहरूका लामबद्ध प्रतिस्पर्धाले नगद व्यापक विदेश गएको छ।
उहिल्यै गाउँ थियो र झुरुप्प–झुरुप्प मिलेका समुदाय थिए। प्रत्येक घरको छेउमा गोठकटेरा थिए। हिजो थियो कि गाउँबाट बजारसम्म स्थानीय जातका कुखुरा चेपेर दैनिक गुजारा चलाउन झर्नेहरूको लस्कर हुन्थ्यो, दूध बेच्नेहरूको ताँती लाग्थ्यो। स्थानीय जातका उत्पादकहरु बिक्री गर्न बजार–बजार चहार्नेहरू प्रशस्त हुन्थे तर अहिले उल्टो उपक्रम छ। बजारबाट गाउँतर्फ चाउचाउका पोका, ब्रोइलरका मासु र डेरीका दूध र घिउ बोकेर उक्लिरहेको देखिन्छ। यसले ग्रामीण अर्थतन्त्रको कहालीलाग्दो परनिर्भर दैनिकी प्रतिपल आँखा अगाडि नाचिरहन्छ।

पहिल्य गाउँमा अत्याधिक रुपमा दैनिक जीवनयापनका लागि प्रयोग हुने परम्परागत साधन पानी घट्ट, तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल, लगायतका परम्परागत सिपहरु कम प्रयोग छ । यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेका छन । गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, दही बनाउने ठेका, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका छन् । स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि रैथाने प्रविधिहरूको अस्तित्व हराउन थालेको छ । स्थानीय प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारी संकटमा परेको छ।
आधुनिक हातेट्याक्टर प्रचलननले हलो, जुवाको प्रचलनपनि कम भएको छ। वर्षामा ओढ्ने स्याखु(घुम)को ठाउँ अहिले प्लाष्टिक, छाताले ओगटेको छ। गाउँमा सडक सुविधा र रोजगारका लागि विदेश जाने प्रचलनले परम्परागत मौलिक घर बनाउने सिप पनि हराउँदै गएको छ। आधुनिक घर निर्माणको प्रचलनले परम्परागत ढुङ्गा कुदाएर गारो लगाउने सिप स¬ंकटमा छ। गाउँमा पुराना घरहरु खाली हुँदै गएका छन् ।
पहिले पनि उस्तै फल्थे आलीकान्लामा नास्पाती, जुनार सुन्तला र आलुवखडाहरू जसरी अहिले फलिरहेका छन्। फरक यति छ, बाँझो बसेका घरघडेरी, करेसाबारी र गैह्रीबारीका डिलडिलमा लगाईएको फलफूलका बोटवनस्पतिलाई स्याहार गर्ने हात पाखुरा, मलजल गर्ने र महत्त्व बुझ्ने बाआमाहरू नहुदाँ कुप्रा, दुब्ला र निरीह भैरहेका छन्।

कुरा हुन्छ केवल तेरो छोरा छोरी कता छन् । अस्टे«लिया, अमेरिका लगायतका युरोपका कुरा हुन्छ । महिना कति पठाउँछ । पोखरा, काठमाण्डौ तिर घडेरी र घर किन्ने तयारी वा किनेको कुरा हुन्छन् । हुदैन् सरकारी सेवामा काम गर्नेको करा । गाउँ कहिल्य आउँछ छोरा भन्दा उत्तैको कार्डको तयारीमा लागेको छ। आउने फिक्स छ्रैन् । गाउँमा भएका युवाहरुपनि महंगो शूल्क दलाललाई बुझाएर भिजाको प्रतिक्षामा बसिरहेका छन् ।
गाउँमा बाटोघाटो पनि बनेका छन्, जताततै चोकहरू छन्। गल्ली र त्यहाँ पुर्खाले आर्जिएका सिंढीहरू मासिएका छन्, किंवा भत्किएका छन् । त्यसैले त आजभोलि गाउँमा गाउँ भेटिंदैन। कतै शहरजस्तो, कतैकतै गाउँजस्तो लाग्छ। कतै परिचित जस्तो र कतै विरानो जस्तो लाग्छ। आउनुस्, गाउँवस्तीहरूका हिजोका सभ्यतासंग जोडिएका मौलिक संस्कृति संरक्षणमा जुटौँ ।