म्याग्दी, २३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाउने तयारी गरिएको छ ।
आगामी जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुँदै छ । सन् १९५० जुन ३ का दिन अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको थियो । हिमाल आरोहणको गौरवमय इतिहास भएको अन्नपूर्णमा यसपाली हीरक महोत्सव मनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिकाले विविध कार्यक्रमहरूको आयोजना गरेर हीरक महोत्सव मनाउने तयारी थालेको छ ।
अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको छ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भने, ‘‘हीरक महोत्सव मार्फत अन्नपूर्ण हिमालको विश्वव्यापी रूपमा प्रचारप्रसार गरेर गौरवपूर्ण इतिहास भएको अन्नपूर्णमा पर्यटक भित्र्याउने हाम्रो उद्देश्य छ ।’’
गाउँपालिका अध्यक्ष पुनको संयोजकत्वमा हीरक महोत्सव मुल समारोह समिति गठन गरी महोत्सवको तयारी थालेको छ । आगामी जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनले बताए । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताए ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरू अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए ।
हिरक महोत्सवको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा अन्नपूर्ण हीरक महोत्सव मुल समारोह समितिका सदस्य तेजबहादुर गुरुङले बताए ।
महोत्सवका अवसरमा आधार शिविर सम्म पदयात्रा, ऐतिहासिक हिमाली उपकरण हस्तान्तरण, पुस्तक विमोचन, पुख्र्याैली नृत्य प्रस्तुती, म्याराथन प्रतियोगिता, शालिक अनावरण र खुला सङ्ग्रहालय उद्घाटन लगायतका कार्यक्रमहरू आयोजना गरिने भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
