म्याग्दीमा निर्माणधिन जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व रकम पारदर्शी भएन्
काेराेला पोस्ट फाल्गुन १८, २०८१ आईतबार

म्याग्दी, १७ फागुन । म्याग्दीमा निर्माणधिन जलविधुत आयोजनाले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी भएको छैन् । रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी नगरेको स्थानीयबासीको गुनासो छ । जलविद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग बमोजिम समुदायको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा खर्चिनुपर्ने रकमको पारदर्शीता नभएपछि स्थानीयबासी रुष्ट बनेका हुन् ।

यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलब ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलब ५ मेगावाट क्षमताको राहुघाट मंगले, २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलब ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणधिन रहेका छन् ।

संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरुमा प्रस्तावित जलविद्युत आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको क्षेत्रको भौतिक, जैविक, रसायनिक, आर्थिक, सामाजिक, धार्मिक र साँस्कृतिक वातावरणमा पर्ने असरहरुबारे अध्ययन गरेको हुन्छ । सिर्जना भएका असरहरुलाई न्युनीकरण निश्चित बजेट नै विनियोजन हुने भएपनि आयोजनाहरुले आफुखुसी उक्त रकम खर्चन थालेपछि जनप्रतिनिधि र स्थानीयबासीले विरोध जनाएका छन् ।

विहिवार गाउँपालिकाले आयोजना गरेको पालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाका प्रतिनिधि र सरोकारवालाबिचको छलफलमा प्रभावित क्षेत्रका स्थानीयले जलविद्युत आयोजनाहरुले सामाजिक उत्तरदायित्वको रकमलाई आफु अनुकुल खर्च गर्ने र स्थानीय तहसंग समन्वय नगर्ने गरेको भन्दै विरोध गरेका थिए । सबै आयोजनाहरुलाई सामाजिक उत्तरदायित्वमा खर्चिने रकमको विवरण पेश गर्न भनेपनि अहिलेसम्म नआएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

केहि आयोजनाहरुले आफ्नै पहुँचमार्गमा बनाइएको सडक र पुलका पूर्वाधार तथा सुरुङबाट निस्कने मकिङ डम्पिङ गर्न बनाएका पूर्वाधारलाई समेत सामाजिक उत्तरदायित्व अन्तरगत नै बनाइएको प्रचार गरेको भन्दै गाउँपालिका अध्यक्ष भण्डारीले समुदायमा खर्चिनुपर्ने दायित्वबाट आयोजनाहरु पञ्छिन खोजेको बताए ।

कार्यक्रममा रघुगंगा जलविद्युत आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आयोजनाबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा कुल रु ६ करोड ६४ लाख खर्चिन पाउनेमध्ये हालसम्म रु २ करोड ३९ लाख खर्च भएको जानकारी गराए ।त्यसैगरि २२ दशमलब ५ मेगावाटको ठूलोखोला ‘ए’ जलविद्युत आयोजनाका आवासीय इञ्जिनियर सञ्जिप न्यौपानेले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च हुने कुल रु १ करो ९२ लाख बजेटलाई प्रभावित क्षेत्रमा पर्ने वडा नम्बर ८ र ७ मा खर्च गर्ने तयारी भएको जानकारी दिए।

कार्यक्रममा २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेको संयुक्त ऊर्जा लिमिटेडका बुद्धिराज अधिकारी, अपर राहुघाट र राहुघाट मंगले दुई जलविद्यूत निर्माण गरिरहेको तुदी पावर कम्पनीका उपेन्द्रराज गौतमले आयोजनाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गरेको विवरण पेश गरेपनि कुल खर्च हुने रकम सार्वजनिक गर्न सकेका थिएनन् ।

जलविद्युत आयोजनाहरुले सामाजिक उत्तरदायित्व र समुदायको विकासमा गर्नसक्ने साझेदारीको सन्दर्भमा स्पष्ट खाका ल्याउन स्थानीयबासीसंग जनप्रतिनिधि, जलविद्युत निर्माणमा लगानीकर्ताले बेवास्ता गरेको देखिन्छ ।