बेनी, २८ पुस । म्याग्दीको प्रमुख बजार बेनीमा आठौं म्याग्दी महोत्सव सुरु भएको छ । आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको आईतबार पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले शुभारम्भ गर्नुभएको हो ।
जिल्लाबासीको आर्थिक स्तरोन्नतीको आधार मानिएका पर्यटन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव आयोजना छ ।
महोत्सव अवलोकन गर्न आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई सजाएर झिलिमिली बनाइएको छ। महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ।
महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो।
महोत्सवमा १० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य छ। एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको छ ।