आठौँ म्याग्दी महोत्सव : स्थानीय उत्पादनको विक्रि वितरणमा प्राथमिकता
काेराेला पोस्ट पुस १५, २०८१ सोमबार

म्याग्दी, १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो ।

यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र हरेक जिल्लाका छ वटै स्थानीय तहलाई एक÷एक वटास्थल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

‘‘स्थानीय उत्पादनको व्यापार बढाउन निःशुल्क स्टलको व्यवस्था गरेका छौँ’’–अध्यक्ष श्रेष्ठले भने । महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने एक सय ३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टलसमेत बुकिङ भइसकेको छ ।

म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त व्यक्तिलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेशभित्रका वडास्तरीय बास्केटबल प्रतियोगिता, ब्याडमिन्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली, भजन, पुख्र्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका सांस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।

रु १० करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्चको अनुमान छ । पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।