रुइसेको सुन्दरतामा रमाउदै पर्यटक
काेराेला पोस्ट आश्विन १३, २०८१ आईतबार

म्याग्दी, १३ असोज रुइसे एक दशक अघिसम्म भगवतीका किसानले गाईभैँसी र भेडाबाख्राको गोठ लैजाने थलोका रूपमा मात्र सीमित थियो । रूखबिरुवा नभएको हरियाली भिरालो पाखोमा बर्खा हिउँदमा गाईभैँसी, भेडाबाख्राका बथान सीमित हुन्थ्यो । समुद्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित रुइसे प्रचारप्रसार, पूर्वाधार र खानेबस्ने सुविधा भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

घाम, पानी र बादलको लुकामारी, कोलाहलमुक्त वातावरण, चराहरुको चिरबिर, चिरबिर आवाज, सिरसिरे बताससँगैको शीतलता भेडाबाख्राको बथानले, हिमालको दृष्यले समय बितेको पत्तै नहुने घुम्न पुगेका अन्नपूर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङले बताए । ‘कामको तनावबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,’ उनले भने ।

पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटक घुम्न आउन थालेका रुइसेकी होटल व्यवसायी कमला शाहीले बताइन् । पर्यटकीय पूर्वाधार र प्राकृतिक दृष्यमा रमाउन पछिल्लो समय व्यवसायी, कर्मचारी, शिक्षक र जागिरे बिदा मनाउन आउने संख्या बढेको ब्यवसायी शाहीले बताइन् । चाडपर्वको समयमा बढी पर्यटक आउने हुदाँ अर्गानिक खानाको माग पु¥याउन ग्राहो हुन्छ । धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो ।

ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजंगल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ । रुइसेमा बास बस्ने पर्यटक एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ । चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ ।

भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेष पनि अवलोकन गर्न सकिन्छ । रुइसेको रेस्टुराँटमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको ढिँडोलगायत परिकारको स्वाद लिन पाइन्छ । म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर–पिप्ले–भगवती हुँदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ । प्रदेश सरकारले पिप्लेदेखि भगवती जोड्ने पाँच किलोमिटर सडक कालोपत्रे गरिसकेको छ ।

कच्ची सडक पुगेको रुइसेमा रघुगंगा गाउँपालिकाले भ्यू टावर, पदमार्ग, वनभोजस्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैँचा स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसे–भेडिओडार क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नतिमा तीन तहको सरकारको समन्वय हुन आवश्यक देखिन्छ ।