म्याग्दी, २३ भदौ । जन्मेको, हुर्केको र मेहनत गरेको ठाउँ सबैलाई प्यारो लाग्छ । जीविकोपार्जनको लागि रोजेको ठाउँ र त्यही ठाउँमा बस्नका लागि स्थानीय वनजंगलको काठ प्रयोग गरेर बनाएको घर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणमा परेको छ ।
अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित घना लालीगुराँसको जंगलस्थित तीन पोखरी भन्ने स्थानमा परम्परागत सीपको प्रयोग गरेर बनाएको काठको घरमा ३७ वर्षदेखि ७७ वर्षीय नन्दप्रसाद पुन बस्दै आएका छन् । बिहान उठ्ने बित्तिकै धौलागिरि हिमालको दृष्य देखिने यस घर स्थानीयस्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर उनले निर्माण गरेका थिए । घर पर्यटकीयस्थल घोडेपानी, पुनहिल र मोहरेडाँडामा घुम्न आउने पदमार्ग पर्ने हुँदा पर्यटकले देख्ने बित्तिकै आनन्द लिने र तस्बिर लिने गर्छन् ।
घना लालीगुँरासको जंगल बीचमा समथर भाग, त्यही भागमा कृषि र पशुपालन कर्मबाट छोराछोरी हुर्काए । यहाँबाट सबै छोराछोरीको खर्च पु¥याए । सबै आ–आफ्नो बाटो लागे बूढाबूढी बस्थ्यौं । तर बूढीको पनि मृत्यु भयो । म जाडोमा न्यानो र गर्मीमा शीतल हुने काठको घरमा बसिरहेको छु । बाचुन्जेल यहीं बस्छु । लालीगुराँसको जंगल भरिएको यस क्षेत्रमा असोज कात्तिक र चैत वैशाखमा पर्यटकको चहलपहल हुन्छ ।
‘छोराछोरी यहाँ कहिले काहीं आउँछन् । नातिनातीना आए भने रमाउँछन् । छोराछोरी यहाँ आएर बस्छन् कि बस्दैनन् थाहा छैन । बेलाबेलामा जेठो छोरो आउँछ । उसलाई यही बस भन्छु । पर्यटकीस्थल पुनहिल र मोहरेडाँडा आउने पर्यटक ओहोरदोहोर गरिराख्छन् । देश तथा विदेशका पर्यटक आइराख्छन् । घरको मौलिकता देखेर रमाउँछन् र फोटो खिच्छन् । यहाँ म बाचुन्जेल मात्र बस्ने होला !’
पुन बस्ने घर स्थानीयस्तरमै उपलब्ध बलिया काठ प्रयोग गरेर झ्याल ढोका, वरिपरि बार, छानो काठकै प्रयोग गरेर बनाएको घर प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी–पुनहिलदेखि मोहरेडाँडामा अन्तरगत लालीगुराँस ट्रेकमा पर्छ । उनले काठको घरसँंगै भैंसीपालन गर्ने गोठ पनि काठकै बनाएका छन् ।
पर्यटकीस्थलमा आवतजावत गर्ने पर्यटकलाई काठको घरको फोटो खिच्ने गर्छन् । काठको घरमा जस्तो अर्को घरमा आनन्द नहुने अनुभव पुनले सुनाउँछन् । शरीरमा शक्ति भएसम्म परिश्रममार्फत् उत्पादन गरेको तरकारी र दूध पर्यटकीयस्थल घोरेपानीका होटलमा बेचेर गाउँमा बस्ने छोराछोरी पालेको अनुभव सुनाउने ७७ वर्षीय पुनको सारथि लालीगुराँसको जंगल, जीवजन्तु र रेडियो बनेको छ ।
‘पहिल्य सात÷आठवटा भैंसी र कृषि खेती गर्ने भए पनि अहिले शरीरको शक्ति कम हुँदै गएपछि एउटा दूध दिने भैसी र थोरै कृषिखेती गरेको छु । शरीरमा शक्ति कम हुँदै गएपछि अहिले छोराछोरी र नातिनातिनाले पठाएको खर्चले एक्लो आनन्द जीवन बाँचिरहेको छु ।’ पुन गाँउ र सहरमा भएका छोराछोरीको घरमा बस्न रुचाउँदैनन् । अहिले बुढेसकालमा जेठो छोरासहित सन्तानले साथ दिएका छन् । तर मेरो यो कर्मभूमिमा छोरानातिले निरन्तरता दिए खुसी हुने उनको भनाइ छ ।
घुम्न आउने पर्यटकले काठबाट बनेको घरको फोटो खिच्ने र भैसीको दूध खान खोज्ने पर्यटकलाई पुनले स्वादिलो दूध खुवाउँछन् । पुरानो काठको घरलाई नयाँ बनाउनका लागि घुम्दै आएकी फ्रान्सेली नागरिकले काठको जस्तै नयाँ घर बनाइदिएकी छन् । तर पुन आफ्नै सीपले बनाएको पुरानो घरमा आनन्द मान्छन् । आफ्नो पुस्तापछि यी घर लोप हुनेमा उनी चिन्ता व्यक्त गर्छन् । सबैभन्दा बढी पर्यटक आउने पुनहिल र मोहरेडाँडा क्षेत्रमा यो घरको मौलिकता देखेर आनन्द आयो ।
परम्परागत सीप र मौलिकता झल्कने यो घरलाई जोगाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बेनी बजारदेखि घुम्दै पुगेका पर्यटक कृष्णराज पौडेलले बताए । म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर, अन्नपूर्ण गाउाँपालिकाको केन्द्र पोखरेबगरबाट उकालो लागेर घार, शिख हुँदै घोडेपानीसम्म यातायात सुविधामा पुगिन्छ । घोडेपानीबाट पुनहिल जाने पदमार्ग हुँदै बीचभागबाट लालीगुरासँको वनजंगलको यात्रापछि मौलिकता झल्कने काठको घरमा अवलोकन गर्न पुगिन्छ ।