म्याग्दी,१० साउन । कोरला नाका नेपाल र चीनको सिमाना पदर्छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा व्यावसायिक पूर्वाधारको अभाव छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय व्यापारीलले व्यावसायिक भौतिक संरचना निर्माणमा सरकारले बेवास्ता गरेको गुनासो छ ।
कोरला नाकामा नेपालतर्फ पूर्वाधार नबन्दा व्यावसायिक रूपमा लाभ लिन नपाएको मुस्ताङबासीको गुनासो छ । चीनतर्फ सबै पूर्वाधार तयार छ । नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि आवश्यक पूर्वाधार अभावले कोरला नाका व्यावसायिक रूपमा चल्न नसकेको लोमान्थाङका व्यवसायी टसी नर्बु गुरुङले बताए ।
गत कात्तिकमा नाका खुलेको थियो । चीनबाट ल्याएको सामान भण्डारणका लागि पूर्वाधार अभाव भयो । कोरला नाकाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालयमा ल्याउनुपर्छ । नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालय तत्कालै व्यवस्थापन गर्नुपर्ने उपल्लो मुस्ताङबासीको माग छ । यो माग एकदशकदेखि पूरा हुन सकेको छैन ।
घुम्न जाने पर्यटकको सामाजिक संजालमा चर्को दबाब र संघ र प्रदेशका जनप्रतिनिधिले कोरला नाका घुम्न जाँदा गरेको प्रतिबद्धता अनुसारको पूर्वाधार बन्न अझै सकेको छैन । गण्डकी प्रदेशले नाकामा सुरक्षा तथा उद्दार केन्द्रको चार कोठे भवन गतवर्ष २०८०÷०८१ मा निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयल मुस्ताङका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपतकालीन अवस्थामा उद्दारका लागि भवन निर्माण गरिएको बताएका छन् ।
उनले ४० लाख २५ हजारमा ठेक्का सम्झौता भएर पूर्वाधार निर्माण गरिएको बताए । चारकोठे व्यावसायिक रूपमा वृद्धिका लागि प्रभावकारी भने हुँदैन । व्यावसायिक रूपमा नाकालाई अगाडि बढाउन आवश्यक पूर्वाधार निर्माणमा नेपाल सरकारले बेवास्ता गरेको देखिन्छ । ६ वर्ष पहिले नै चीनतर्फ भौतिक संरचना पूर्ण रूपमा तयार पारेको छ । विभिन्न समयमा नेपाल सकारका टोलीले अध्ययन गरे पनि भौतिक संरचना निर्माण सुरु हुन सकेको छैन ।
भौतिक संरचना निर्माणका लागि एक हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । ‘चीनतर्फ सुरक्षाकर्मीले हाम्रो भौतिक संरचना पूर्ण गराएका छौं तिमीहरूले कहिले बनाउँछौं भनेर दबाब सिर्जना गर्छन् ।’ आर्थिक अर्थतन्त्र कमजोर देखाएर पूर्वाधार निर्माणमा बजेट छुट्याउन ढिलासुस्ती गर्नु सरकारको कमजोरी देखिन्छ । मुस्ताङको जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामासम्म स्तरोन्नति गरेर दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ ।