जलविद्यूत आयोजनाले सामाजिक उत्तरदायित्व पुरा गर्दैनन्
काेराेला पोस्ट असार ३२, २०८१ सोमबार

म्याग्दी, ३१ असार । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को सेवा प्रवाह, विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुको उपस्थितमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ।

मौवाफाँटस्थित गाउँपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागिहरुले विकास निर्माण, जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व, सेवा प्रवाह, शिक्षा,स्वास्थ्य, विपत व्यवस्थापन, जनप्रतिनिधि र कर्मचारीको काम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चालु आर्थिक वर्षमा ७४.९५ प्रतिशत पूँजीगत र ८२.८५ प्रतिशत चालु खर्च भएको कार्यक्रममा जानकारी गराए । चालु आर्थिक वर्षमा समग्र रुपमा कुल बजेटको ८०.८० प्रतिशत वित्तिय प्रगति भएको बताए ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले गाउँपालिकाले सूचना माग गर्दा नदिएको, सार्वजनिक जग्गाको संरक्षण, विद्यालयलाई दिने प्रोत्साहन रकम प्रदान गर्दा अपनाइने प्रक्रिया, स्थानीय पाठ्यक्रममा एकरुपकता नभएको, सडक मर्मत, दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्नुपर्ने, निर्माणधिन जलविद्युत आयोजनाबाट प्रभावित गाउँलाई बजेट नदिएको, शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने, गाउँपालिकाले फजुल खर्चमा कटौती गर्नुपर्ने, विपत व्यवस्थापन तथा राहत वितरण, स्वास्थ्य क्षेत्रका उपकरण प्रयोगमा वेवास्ता गरेको, छात्रवृत्ति रकम, गाउँपालिकाका सवारीसाधनको मर्मत सम्भार र इन्धन खर्चमा बढी रकम विनियोजन गरिएको लगायतका विषयमा गुनासा र सुझाव राखेका थिए ।

विभिन्न समयमा हुने सार्वजनिक सुनुवाई जनताले उठाएको प्रश्न कार्यान्वयन नगर्दा सार्वजनिक सुनुवाईलाई औपचारिकता सिमित कर्मचारी र जनप्रतिनिधिले गरेको हुदाँ जनताका गुनासालाई सम्वोधन गर्न रघुगंगाबासीले आग्रह गरे ।
यसैगरी बृहत पिप्ले भगवती चिमखोला खानेपानी छिटो कार्यान्वयनमा लैजानुपर्ने र विद्यालय स्तरको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने सहभागीहरुले सुझाव दिएको थिए ।

कार्यक्रममा ज्ञनोदय माविका प्रधानाध्यापक विजय शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी, स्थानीयवासी निलकण्ठ सुवेदी, रमेश गुरुङ, श्रीकृष्ण रिजाल,इन्द्रदत्त सुवेदी लगायतले कामप्रति गुनासो र सुझाव राखेका थिए ।

त्रैमासिक चौमासिकको प्रगति सार्वजनिक सँगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै आगामी आर्थिक वर्षमा कार्यालयको कार्यसम्पादनलाई थप प्रभाबकारी एवम् सेवामैत्री बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी बताए ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भौगोलिक विकटता, स्रोत साधनको अभाबका बिच पनि गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्रगति हाँसिल बताउँदै जनताबाट उठेका गुनासा र सुझावलाई प्रभावकारी रुपमा कार्यान्वय गर्ने प्रतिवद्धता जनाए । जलविद्युत आयोजनालाई सामाजिक उत्तरदायित्व अन्तरगतको काम ताकेता गरिरहेको बताए ।