बेनी–जोमसोम–कोरला सडकको भौतिक प्रगति ८० प्रतिशत
काेराेला पोस्ट असार ६, २०८१ बुधबार

म्याग्दी, ५ असार । कालीगण्डकी कोरिडोर अन्तर पर्वतको मालढुङ्गा देखि म्याग्दी बेनी हुदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडक पूर्णतामा ढिलाई भएको छ। वि.स. २०७३ मा शुरु भएको बेनी –जोमसोम–कोरला सडक योजनाको हालसम्म भौतिक प्रगति ८० प्रतिशत छ। कोरला नाकालाई ब्यवसायिक रुपमा संचालन गर्ने उद्देश्यले पहुँचमार्गलाई स्तरोन्नती र पुल निर्माणलाई छिटो सम्पन्न गर्ने गरी बेनी –जोमसोम–कोरला सडक योजना कार्यालय लागेपनि निर्माण ब्यवसायीको काममा ढिलासुस्तीले पूर्णता हुन सकेको छैन् ।

१० अर्ब लागत अनुमान गरिएको यो सडक आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि योजनाको अवधीलाई आर्थिक बर्ष २०८२/०८३ सम्म लम्बाईएको छ। सडक र पुल निर्माणका लागि रु ७ अर्बको ठेक्का सम्झौता भएकोमा हालसम्म ६ अर्व खर्च भएको बेनी –जोमसोम–कोरला सडक योजना कार्यालयका योजना प्रमुख ध्रुव झाँले बताए । ‘१०५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य भएपनि हालसम्म ४८ किलोमिटर कालोपत्र र ८५ मिटर ग्राभेल भएको छ।’–झाँले बेनीमा भएको म्याग्दी, मुस्ताङ र पर्वतका सरोकारवालाहरुसंगको छलफलमा जानकारी गराए । ‘२४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेकोमा १० वटाको काम सकिएको छ, ५ वटा निर्माणधिन, ४ वटाको ठेक्का तोडेको र ५ वटा ठेक्का प्रक्रियामा बाँकी रहेको छ।

मालढुङ्गा देखि कागबेनीसम्म ८ वटा खण्डमा कालोपत्र गर्ने सम्झौता भएको ३ वटा सकिएको छ भने ५ वटा जारी छ ।’
सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा, पूर्व स्विकृति विना जथाभावि शाखा सडक, निर्माण गरिनु, कमजोर भूवनोट, नदी कटान र बाढी, पहिरो र कालीगण्डकी नदीबाट ढुंगा, गिटी, बालुवा उत्खनन्मा रोक लगाउनुले निर्माणमा ढिलाई भएको योजना प्रमुख झाँले जानकारी गराए । सजिलो ठाउँमा निर्माण ब्यवसायीले काम गर्ने अप्ठेरो ठाउँमा सुरुवात गर्ने छोड्ने कामलाई समयमै पूर्णता नदिनाले सडकमा आवातजावात गर्ने पर्यटकलाई बर्खाको समयमा सास्ती बन्ने गरेको छ।

सरोकारवाहरुको छलफलमा तीन जिल्लाका सरोकारवाहरुले नदीजन्य पदार्थको ब्यवस्थापनमा सहजीकरण गर्ने प्रतिवद्धता जनाए । भारतको सिमाना त्रिवेणी र चिनको कोरला नाकालाई जोड्ने कालीगण्डकी कोरीडोर सडक राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले बनाएको छ। गण्डकी प्रदेशको भाग्यरेखाको रुपमा रहेको यो सडक पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्यूत, पर्यटन, धार्मिक गन्तव्यको रुपमा विकासको आधारमा महत्वपूर्ण मानिन्छ।