पूर्वाधारको अभावमा बराह ताल ओझेलमा
काेराेला पोस्ट असार ६, २०८१ बुधबार

म्याग्दी, ५ असार । हिउँले ढाकेको अग्ला पहाडको फेदीमा समथर भागमा एउटा सुन्दर बराह ताल पर्यटकको पखाईमा छ। रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पहेंली बराह ताल हिमालको फेदीमा गोलो आकारमा छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुराहरु एकै ठाउँबाट अवलोकन गर्न सकिने पहेंली बराह तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा छ।

समुद्री सतहदेखि चार हजार ६ सय मिटरको उचाइमा अवस्थित पहेंली ताल करीब ८ सय मिटर भन्दा बढी लम्बाइ र ४०० मिटर चौडाइमा फैलिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि एक दिन सवारी साधन र एक दिन पदमार्ग हुदै पहेंली बराह पुगेका कमल खत्रीले तालको दृश्यले सबै पदमार्गको दुःख मेटाईदिएको बताए । उनले थपे, ‘यहाँ आउन जती गाह्रो भएको त्यो यहाँको दृस्यले त्यो दुःख मेटाईदियो तर, यहाँ सम्म आउने पदमार्ग नुहदा निकै गाह्रो भयो ।’

ताल पुगेका म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्काले तालको सौन्दर्य र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिएको बताए । यहाँको प्राकृतिक सौन्दर्यले जती राम्रो छ त्यहाँ पुग्न त्यति मुस्कील भएको खड्काको भनाई छ । भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन ।

अहिले सम्म ताल वरपर भेडा पालन गर्ने गोठालाहरु र यार्सागुम्बा टिप्न पुग्ने चिमखोलेहरु मात्र त्यस क्षेत्रमा पुग्ने गरेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका गमान गर्बुजाले बताए । यस क्षेत्रमा पर्यटकको प्रचुर सम्भावना भएपनि प्रचारप्रसार र पुर्वधार अभावले ओझेलमा परेको छ । बेनी–चिमखोला–कुईनेमंगले हुदै धौलागिरी आधार शिविर जाने पदमार्ग हुदै पुग्न सकिने उक्त तालमा जानका लागि कालीबराह खोलादेखि माथी जानुपर्दछ । खोला सम्म राम्रो पदमार्ग भएपनि खोलादेखि ताल सम्म पुग्न जंगल, खोलाको किराना, भिर हुदै मुस्किलले पुग्न सकिन्छ ।

चिमखोलाका कृष्ण पुर्जाले पदमार्ग र पर्यटक बस्न मिल्ने सत्तल, ठाटी लगायतका पूर्वधारहरु निर्माण गर्नुपर्ने देखिएको बताए । बेनी–रुईसे भेडी ओडार– सोबाङ दुरी हुदै धवलागिर आधार शिविर पुगेपछि त्यहाँबाट पहेंली बराह, कालीबराह हुदै मुस्ताङको तेले निस्कने पर्यटक पदमार्गको डिपिआर गरी यस क्षेत्रको विकासमा पहल गरिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।