आगामी बर्षको योजना छनोटमा जनप्रतिनिधि
काेराेला पोस्ट जेष्ठ २४, २०८१ बिहीबार

म्याग्दी, २४ जेठ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा जनताका योजना समेट्न जनप्रतिनिधि बस्तीस्तर पुगेर छलफलमा लागेका छन् । म्याग्दीका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा समेट्नपर्ने योजनाहरुको लागि बस्तीस्तरका जनतासंग छलफलमा जुटेका हुन् । असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।

बेनी नगरपालिका–९ का वडाअध्यक्ष चक्रबहादुर केसी बस्तीस्तरको योजना छनोट गर्न गलेश्वर बजारको योजना छनोट गर्न बजारबासीसंग छलफल गरेको सामाजिक संजालमा राख्दै टोल टोलमा योजना छनोट प्रक्रिया सुरु भएकाले सामाजिक संजालमार्फत सुझाव र योजना छनोटमा सहयोग गर्न आग्रह गरेका छन् । गत वर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, स्थानीय बासिन्दाले दिएका सुझावका आधारमा योजना छनोट गर्ने गरी छलफलमा जुटेको जानकारी दिए । वडाका योजना छनोट गर्न टोल टोलमा पुग्ने गरेको वडाअध्यक्ष केसीले बताए । बेनी नगरपालिकाले सराकोरवालाहरुसंग पनि छलफल गरेको छ ।

बस्तीस्तर र वडास्तरमा समेट्न पर्नुपर्ने विषयलाई प्रविधिको प्रयोग गरेर ईमेल, म्यासेज र फोनमार्फत सुझाव पठाउन् अन्नपूर्ण गाउँपालिकाले गापाबासी जनतालाई सामाजिकसंजाल मार्फत आग्रह गरेको छ । आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटमा समेट्न पर्ने विषयमा सरोकारवालाहरुसंग छलफल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी गराँउदै बजेटको सन्दर्भमा आफ्ना सुझाव र सल्लाह अध्यक्ष, उपाध्यक्ष र कार्यालयको मेलमा पठाएर सुझाव दिन गाउँपालिकाको पेजमार्फत सूचना प्रकाशन गरेर आग्रह गरिएको बताए । प्रविधिमार्फत विदेश र गापाभित्र बसेका सबैबाट सुझाव संकलन गर्न सजिलो हुने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । अन्य पालिकाले पनि प्रविधिमार्फत सुझाव माग गरिरहेको छ।

वडाहरूमा कस्ता योजना आवश्यक छन्, कस्तो र कति रकमको योजना बनाउने भनेर वडामा नागरिक भेलामार्फत छलफल गरिएको धवलागिरी गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिएको जनप्रतिनिधिको भनाई छ । जनप्रतिनिधिमुखी योजना छनोटले जनतामा असन्तुष्ट बढ्दै गएपछि स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले बढी प्रभावकारी हुने भएकाले योजना छनोटमा टोलटोलमा म्याग्दीका स्थानीय तहका जनप्रनितिनिधि पुग्ने गरेका छन् । ६ पालिका ४५ वडाका जनप्रतिनिधिहरु बस्तीस्तरमा पुगेर योजनाहरु छनोटका लागि छलफल र सुझाव संकलमा लागि परेका छन् ।

तीन तहका जनप्रतिनिधि समन्वयविना वडास्तरका योजना छनोट हुदाँ एक पालिकाको विकास योजनाले अर्को पालिकाको जनतालाई सहयोग नपुगेको देखिन्छ । बेनी नगरपालिकासहित धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्णका जनप्रतिनिधि मिलेर कृषि, पर्यटन, सडक, वातावरणीय योजना र उद्योग स्थापनामा साझा योजना बनाएर बजेट विनियोजन गर्न म्याग्दीबासीको सुझाव बारम्बार भएपनि कार्यान्वयन हुन सकेको छ्रैन् । राजनीतिक पूर्वाग्राहीले म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिविच साझा योजना बनाउन छलफल भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छ्रैन् ।