म्याग्दी, १२ जेठ । रघुगंगा गाउँपालिकाको वडानम्वर, ४, ७ र ८ दग्नाम, चिमखोला र कुइँनेमंगलेको सडक मर्मत र स्तरोन्नतीमा गाउँपालिका र जलविद्यूत आयोजनाहरुले बेवास्ता गरेका छन् । गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको तत्काल स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र संघीय सांसद् जलविद्युत आयोजनाले ध्यान नदिएको स्थानीबासीको गुनासो छ ।
गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नतिमा उदासिनता देखाउँदा दुर्घटनाको जोखिम, धूलो र हिलोको समस्या र जोखिमपूर्ण यात्रा गर्नुपरेको कुँईनेमंगलेकाबासी गोपाल छन्त्यालले बताउनुभयो ।
रघुगंगा गाउँपालिकाले गत पौष ११ गते आयोजना गरेको सार्वजनिक सुनुवाईमा वडानम्वर ४ र ८ का वडासदस्यद्वाय चित्रबहादुर गर्वुजा र अगेन्द्र छन्त्यालले रघुगंगा नदीमा निर्माणधिन जलविद्युतले सामानहरु ओेसारपोसार गर्ने तर पहुँचमार्ग स्तरोन्नतीमा ध्यान नदिदाँ जनताले सास्ती खेप्नुपरेको गुनासो उठाउनुभएको थियो । उहाँले हिउँदमा धुलो र बर्खायामा सवारीसाधन नचल्ने समस्या रहेको बताउनुभएको थियो ।
“मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको स्तरोन्नतिका लागि तत्काल गाउँपालिका, प्रदेश र संघीय सांसद्को विशेष पहल गर्नुपर्छ,”– स्थानीयबासी गोपाल छन्त्यालले सामाजिक संजालमार्फत भन्नुभएको छ। “सुनेको छु, गाउँपालिकाको नेतृत्वदेखि वडा तहसम्मका जनप्रतिनिधीहरु जलविद्युत् आयोजनासँग कमिशन र फाइदामा लागेपछि सडक स्तरोन्नतीले प्राथमिकता पाएको छैन्।”
आयोजनाहरूले उपकरण र निर्माण सामग्री ढुवानी गर्दा सडक साँघुरो, धूलो र ग्रेड नमिलेका कारण जनताले सास्ती खेप्नुपरेको छ । यस क्षेत्रका जनताले सडकलाई ग्राभेल सहित स्तरोन्नतिको माग छ। संंसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरूमा १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्। रघुगंगा नदीमा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन्।
जलविद्युत आयोजना र स्थानीय सरोकारवालाहरूको विभिन्न चरणको बैठकमार्फत यस क्षेत्रको सडकलाई ग्रेडिङ र ग्राभेलसहित स्तरोन्नति गर्ने सहमती भएपनि कार्यान्वयनमा बेवास्ता भएको छ।
मानिस हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा करिब पाँचबर्ष पहिल्य गाउँपालिका र तुँदी पावर कम्पनीसंगै प्रदेश र संघिय सरकारको समेत सहकार्यले पहुँचमार्ग खोलिएको थियो ।
दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने यस सडकमा जलविद्यूत आयोजनाका सामानहरु लिएर ठुलाठुला ट्रकहरु हिड्न थालेपछि सागुरो सडक जिर्ण बनेको छ। सडक समयमै स्तरोन्नती भएमा सहज यात्रा र स्थानीय उत्पादनलाई बजार पु¥याउन सहज हुने देखिन्छ । तस्विर : गोपाल छन्त्याल