यूएई, २९ चैत। नेपाली म्यानपावर व्यवसायीले भिजिट भिसामा सेटिङ गरी सोझासाझा नेपालीहरूबाट चर्को रकम लिएर खाडी मुलुक सयुक्त अरब ईमिरेट्स (यूएई) पठाउँदै आएका छन्। स्वदेशमा परिवारलाई सुखी बनाउन र समाजमा आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले यूएई आउने नेपालीहरु अलपत्र हुने संख्या बढेको छ । नेपाल सरकारले भिजिट भिसालाई खुल्ला गरेपछि दलालले राम्रो रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई ल्याएर अलपत्र पार्ने संख्या बढाएका छन् ।
भीजिट भिसाको प्रक्रियालाई दलालले औपचारिकतामा पुरा गरेर नेपाली युवायुवतीलाई यूएई ल्याउने गर्छन्। रोजगारीमा आउने युवायुवतीलाई दुईहजार डिराम देखि पाँच हजार डिरामसम्मको रोजगारीको सुनिश्चित छ। अमेरिका, युरोपका देशमा सहज रुपमा जान सकिने प्रलोभन देखाएर साढे दुईलाख देखि ५ लाख दलाललाई तिरेर आउने नेपालीहरु अलपत्र हुने संख्या बढेको छ ।
पछिल्लो समय दलालले राम्रो रोजगारीको प्रलोभन देखाएर आउने नेपाली यूएईमा अलपत्र हुने संख्या बढेको मोना यूएईका सह–कोषाध्यक्ष चन्द्र भण्डारीले बताउनुभयो । “साढे दुई लाख देखि पाँच लाखसम्म दलाललाई बुझाएर नेपालको एयरपोर्ट देखि युएई सम्म ल्याएर छोड्ने गर्छन् । भिजिट भिसामा ल्याएर खाना बस्नको ब्यवस्था र काम लगाई दिन्छु भन्ने दलाल सम्पर्क विहिन बनेपछि नेपालीहरु अलपत्र हुने गर्छन्”– भण्डारीले भन्नुभयो। “भिजिट भिसामा आएर अलपत्र हुने नेपालीलाई दलालले पासपोर्ट समेत दिदैन्। लामो समयपछि दलाल सम्पर्कमा आएपनि दलालले थप पैसा उपलब्ध गराउन दवाव दिएर भिसाको समय थपिदिन्छु, रोजगारी मिलाएर पासपोर्ट दिन्छु भनेर तड्पाउने गरेको गुनासा अलपत्र नेपालीको छ ।”
भिजिट भिसामा आएका नेपालीलाई दलालले चार लाख रुपैयाँ नेपाली उठाएर दुई बर्षको आजातभिसा निकालेर उपलब्ध गराउछन् । रोजगारी गर्ने आजात भिस्सा युएई सरकारबाट प्राप्त गरेको छ तर काम नपाएर युएईको दुबै, अजमान, आवुदावी, शार्जा, फुजुरा, अल्यान्, अमलकुई शहरको पार्कमा अलपत्र हुने नेपाली बढेका छन् । रोजगारी नपाएर अलपत्र हुने नेपाली पार्क र गल्लीमा सुत्ने र कसैले दिएको खाएर बस्ने गरेको मोना यूएई बरिष्ठ उपाध्यक्ष किरन खत्री (नविन) ले बताउनुभयो ।
“भिजिट भिसामा आउने नेपालीसंग होटलमा बस्ने सुनिश्चित भएको कागजपत्र, पाँचसय अमेरिकी डलर साथमा लिएर नेपालको एयरपोर्टमा छिर्छन्। यूईएको विभिन्न शहरमा भएको एयरपोर्टमा बाहिर निस्केपछि भोलिदेखि सुविधासम्पन्न कम्पनीमा काम सुरु हुन्छ, साथमा भएको पैसा मागेर दलाल सम्पर्क विहिन हुने गर्छन्,” बरिष्ठ उपाध्यक्ष खत्रीले भन्नुभयो, “त्यसपछि नेपालीहरु बस्ने होटल र कोठा पनि हुदैन्, साथमा रोजगारी नभएपछि अलपत्र हुने गर्छन् । नेपालमा कोहीको आर्थिक अवस्था राम्रो छ भने घरबाट पैसा मगाएर कोही नेपाल फर्कने गर्छन् ।”
यूएईका विभिन्न कम्पनीले एकहजार डिरामदेखि दुईहजारसम्मको तलव खान बस्न र एयर टिकसहित नेपाल सरकारका मान्यता प्राप्त बैदेशिक रोजगारीका लागि पठाउने कम्पनीलाई उपलब्ध गराउछ् । तर मेडिकल, श्रमस्विकृत र जीवन विमा लगायतको लागि ५०÷६० हजार रुपैयाँ लिनुपर्ने नियम भएपनि दलालले चार देखि पाँचलाख नेपाली रुपैयाँ उठाउने गर्छन् ।
रोजगारीसंगै आकर्षक सुविधाहरुको प्रलोभन देखाएर युएईका विभिन्न कम्पनीमा नेपाली पठाउने गर्छन् । तर दलालले बास्तविकता नवताउदाँ सेवासुविधा कम भएको रोजगारीमा काम गर्नुपर्ने बाध्यतामा नेपाली छन् ।
नेपालस्थित म्यानपावरलाई सम्पर्क गर्दा बेवास्ता गर्ने गरेको अलपत्र नेपालीको गुनासो छ नेपाल सरकारको बैदेशिक नीति कडा नबन्दा धन कमाउने उद्देश्यले विदेश आएका नेपालीहरु ठगिने क्रम बढेको हुदाँ यसतर्फ नेपाल सरकारले विशेष ध्यान दिन मोना यूएईले आग्रह गरेको छ। यूएईमा रहेको नेपाली राजदुताबास कार्यरतले अलपत्र पार्ने दलाललाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने भन्दा पनि संरक्षण गरेको गुनासो अलपत्र नेपालीको छ । भीजिट भिसाको प्रक्रियामा नेपाल सरकार जिम्मेवार बन्नुपर्ने देखिन्छ ।