म्याग्दी, २७ चैत । संसारको सातौँ अग्लो (आठ हजार १६७ मिटर) धवलागिरि हिमाल म्याग्दीमा पर्छ । म्याग्दीका अग्ला दूई दर्जनभन्दा बढी टाकुराबाट सुर्योदयसंगै पूर्वी रुकुमको चुरेन हिमालदेखि गोर्खाको मनास्लु हिमालसम्मका १८ भन्दा बढी हिमाल अवलोकन गर्न पाईन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पहाडको टुप्पोमा रहेको सुन्दर पर्यटकीय स्थल घोडेपानीको पुनहिलबाट हिमाल हेरेबापत गाउँपालिकाले वार्षिक रूपमा ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्राका लागि आएका पर्यटक घोडेपानीबाट बिहानै सूर्योदय र हिमशृङ्ख्लाको मनोरम दृश्य अवलोकन गर्न पर्यटकियस्थल पुनहिल पुग्ने गर्छन् ।
पर्यटकको प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न पालिकाले वार्षिक रूपमा पुनहिललाई आय ठेक्कामा लगाउने गरेको छ। उक्त आय ठेक्कामा लगाएबापत चालु आर्थिक वर्षमा पालिकाले ६३ लाख ११ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
म्याग्दीको अत्याधिक बढी पर्यटक आउने ठाउँ घोडेपानी पुनहिल हो । पर्यटकीय स्थलमा प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित पालिकाले आय ठेक्का सम्झौता गर्दै आएको छ। पर्यटक याममा यहाँ दैनिक रूपमा एक सयदेखि पाँच सयसम्म विदेशी पर्यटक आउने गर्दछन्। पुनहिल प्रवेशका लागि गाउँपालिकाले आन्तरिक पर्यटकलाई ५० र विदेशी पर्यटकका लागि १५० रुपियाँ शुल्क तोकिदिएको छ ।
पुनहिलसंगै, मोहरेडाँडा, खोपारा, बेलढुंगाा, गाम्फाधुरी, भेडीओढार, दुरुलेक, मालिकाधुरी, टा्ेडके लगायतका पर्यटकस्थलबाट चुरेन, गुर्जा, धौलागिरी, मानामाथि, निलगिरी साउथ, निलगिरी नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लु हिमाल लगायतका साना ठुला हिमालका चुचुराको अवलोकन पाईन्छ । हिमाल र प्रकृतिका दृष्यहरु हेर्न पुग्ने आन्तरिक बाह्य पर्यटकले गाउँका साना–साना होमस्टे संचालन गर्न सहयोग पुगेको छ भने टोडेके, रुईसे, खोपारा, मोहरेडाँडा लगायतका क्षेत्रमा ब्यक्तिगत र सामुदायिक लगानीमा पर्यठटक लक्षित होटलहरु संचालन गरेका छन् ।
अग्ला टाकुराबाट हिमालका दृष्यहरु हेर्ने पर्यटक बढेपछि सडक स्तरोन्नती, पदमार्ग र प्रतिक्षालय लगायतको पूर्वाधार बनाउने योजनामा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिएका छन् ।