रघुगंगामा ६ वटा जलविद्युत आयोजना निर्माणाधीन
काेराेला पोस्ट माघ ७, २०८० आईतबार

म्याग्दी, ७ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा ६ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यस नदीमा मिसिन आउने अन्य सहायक खोलाहरुमा सो जलविद्युत आयोजना निर्माणाधीन छन् ।

रघुगंगा गाउँपलिकाभित्र अनुमति लिएर ६ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रघुगंगा हाईडे«ापावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६५ प्रतिशत काम सकेको छ । यस नदीमा तुदी पावरले चिमखोला, पाखापानी र कूईनमंगले क्षेत्रमा ३५ मेगावाट क्षमताको राहुघाट–मंगले जलविद्युत आयोजना र चिमखोला, झिँ, पाखापानी र दग्नामा ४८.५ मेगावाटको अपर राहुघाट जलविद्यूत आयोजना निर्माणाधी छन् ।

रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रा.लि.ले वडानम्वर ७ को चिमखोला र ८ कुईनमंगलेमा २१.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माणाधीन छ । त्यस्तै प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगंगा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको निर्माण सुरुवात गर्न स्थानीयसंग छलफल गरेको छ। बगरखोला पनि राहुघाटको सहायक नदी हो।

रघुगंगा–८ कुइनेमंगलेमा ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना अघि बढाएको छ । रघुगंगाको सबैभन्दा माथिल्लो भागमा समेत विद्युत निकाल्नका लागि अध्ययन भैरहेको छ ।
ऊर्जा खोलामा परिणत हुन थालेको रघुगंगा नदीले विकट गाउँमा सम्भावना र अवसरको ढोका खोलिदिएको रघुगंगा गाउँपालिका वडानम्वर ७ का वडाअध्यक्ष थगबहादुर पाईजाले बताए । निर्माणाधीन जलविद्युत आयोजनाले वातावरणीय परिक्षण अनुसार स्थानीयबासीलाई वितरण गर्नुपर्ने रकम नदिएको उल्लेख गर्दै यस विषयमा जलविद्युत आयोजनालाई जानकारी गराएको बताए ।

राहुघाट नदी आसपास पर्ने पिप्ले, दग्नाम, दर्मीजा, झिँ, पाखापानी र कुइनेमंगलेमा निर्माणधिन ६ वटा जलविद्युत आयोजनाले जनताको अपेक्षा अनुसार गुणस्तरीय विकासको काम र सामाजिक उत्तरदायित्व अन्तरगत नागरिकलाई जग्गाको क्षतिपुर्ति दिन बेवास्ता गरेको वडानम्वर ४ का वडासदस्य चित्रबहादुर गर्वुजा र ८ का वडासदस्य अगेन्द्र छन्त्यालले बताए ।

जलविद्युतले सडक सुविधा उपलब्ध गराएपनि स्तरोन्नतीमा ध्यान नदिदाँ स्थानीयलाई आवातजावतमा सास्ती भएको उल्लेख गरे । त्यस्तै जलविद्यूत सम्वन्धी युवालाई तालिम र सिप उपलब्ध गराएर जलविद्युत आयोजनामा काम गर्ने वातावरण बढाउनतर्फ गाउँपलिकाले ध्यान दिनुपर्ने पिप्लेका युवा रमेश गुरुङले बताए ।

पालिकाभित्र निर्माणाधीन जलविद्युत आयोजनालाई स्थानीयबासीले उठाएको गुनासो अनुसार सडकको स्तरोन्नति, जग्गाको क्षतिपुत्र्ति उपलब्ध गराउन र सामाजिक उत्तरदायित्वको काम गर्नका लागि आयोजनालाई ताकेतासंगै पत्राचार गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।