म्याग्दी, २० पुस । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो ।
उहाँले अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि रहने जानकारी दिंदै म्याग्दीमा एमालेका तीन हजार चार सय पार्टी सदस्य रहेका र अन्य समुदायबाट २०, महिला १५ र दलित १० जना बराबर एक जना प्रतिनिधि छनौट हुने बिधानत: ब्यबस्था रहेको बताउनुभयो । उहाँका अनुसार समावेशीमा छुटेकाहरु भएमा १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ ।
माघ ५ गतेभित्र प्रतिनिधि छनौट गरेर सिफारिस गर्न वडा कमिटिलाई परिपत्र गरेको अध्यक्ष केसीले बताउनुभयो । ४५ वटा वडागत रुपमा २४० जना प्रतिनिधि आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवेशनका लागि नारा र लोगो सार्वजनिक गरिएको थियो । दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ ।
अधिबेशन सफल बनाउनका लागी विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी सुरु गरेको एमाले म्याग्दीले जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र थापा, गण्डकी प्रदेश कमिटिका सदस्य अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव थमसरा पुन लगायतको उपस्थिति रहेको थियो ।