राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविले जित्यो
काेराेला पोस्ट पुस १७, २०८० मंगलबार

म्याग्दी, १७ पुस । मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगला मावि बावियाचौरले जितेको छ । लगातार ३ पटक विजेता बन्दै मंगला माविले शिल्ड पच गरेको छ ।

मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो । ६ स्वर्ण, १२ रजत र ५ कास्य सहित २३ पदक जित्दै महेन्द्र रत्न मावि बरंजा द्धितीय भएको छ । ३ स्वर्ण,८ रजत १० कास्य सहित २१ पदक जितेर दिपशिखा मावि कुहुँ तृतीय भएको गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ। यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश: ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

बिजेता विद्यालय र खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा भलिबलतर्फ उत्कृष्ट छात्रमा मंगला माविका प्रकाश नेपाली, छात्रातर्फ शिशुकल्याण माविकी बुद्धिमायाँ बुढाथोकी, कबड्डीतर्फ मंगला माविका छात्रछात्रामा किस्मत विक र सरिता बुढा, एथलेटिक्समा मंगला माविकै मिलन थापा र रिकजना बोटे उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।