पर्यटन पूर्वाधारको पखाईमा गाम्फाधुरी
काेराेला पोस्ट पुस १५, २०८० आईतबार

म्याग्दी, १५ पुस। म्याग्दीको मंगला गाउँपालिका– ४ स्थित बरंजामा पर्ने एतिहासिक पर्यटकीय स्थल तपोभूमिको रुपमा चिनिएको गाम्फाधुरी पूर्वाधारको पखाईमा रहेको छ। समुन्द्री सतहदेखि तीन हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टन पूर्वाधार नहुँदा प्रकृतिको रमणीय ठाउँ ओझेलमा परेको हो ।

वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो पर्ने गाम्फा धुरी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। मंगला ४ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका –३ को सिमानामा अवस्थित गाम्फाधुरी स्वर्गद्वारीबाट आएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेको एतिहासिकस्थलको चिनिन्छ ।

यहाँबाट पूर्वी रुकुमको चुरेन हिमालदेखि गुर्जा, धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे्र हुँदै गार्खामा रहेका मनास्लु हिमाल सम्मका दर्जनौ हिमश्रृङ्खलाहरु आँखै अगाडी देख्न सकिन्छ । म्याग्दी, बाग्लुङ, पर्वत र कास्की जिल्लाका समेत अधिकांश ग्रामिण वस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्दले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ ।
ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ। तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले जोकोही पनि आकर्षित हुन्छन् । यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालिगुँरास, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पाइन्छन् ।

गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवद्र्धनका लागि पालिका, प्रदेश र संघका जनप्रतिनिधिलाई जानकारी गराएको वडाअध्यक्ष लालबहादुर रोका मगर बताए। ‘एतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वडाले पहल थालेको छ,’– उन्ले भने, ‘गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी परमानन्दज्युले तपस्या गरेर ज्ञान प्राप्त गरेको ऐतिहासिकस्थल हो, यहाँ भग्नावशेषको रूपमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गर्न सकेमा ठुलो संख्यामा तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ, पर्यटन क्षेत्रको विकास लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सडक, पुराना सम्पदाको संरक्षणको काम गर्नुपर्छ ।’

वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गर्नुभएको इतिहास रहेको वडाअध्यक्ष रोकाले बताए। तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्द सहित उहाँका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने तयारी छ । ‘‘गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्धनका लागि गाउँपालिका, प्रदेश र संघ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको व्यवस्था गरिदिन माग गरिसकेको छु’’ उनले भने ।

गाउँपालिकाका सब–इन्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने बताए। पालिकाभित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको विकास गरि पर्यटन प्रवद्र्धन गर्न लागि पालिकाले योजना बनाएर अघि बढेको मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताए । बेनीबाट तातोपानी हुँदै मंगला ४ बुकेनीमा सवारी साधनमार्फत एक घण्टाको यात्रा र बुकेनीबाट करिब साढे ३ घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ ।