‘सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी बढेका छन्’
काेराेला पोस्ट पुस ११, २०८० बुधबार

म्याग्दी, ११ पुस। सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी दिनदिनै बढ्दै गएको बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट संचालित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको ज्ञान गौरी रिसोर्ट पर्वत बेनीमा भएको २४ औँ बार्षिक साधारणसभाको अवसरमा बोल्दै रिजालले सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी बढेको उल्लेख गर्नुभयो ।
सहकारी उद्यमशिलता र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भन्दा घरजग्गामा बढी लगानी गर्दा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको बताउनुभयो। ‘सहकारीको ऐन नियम, मूल्यमान्यता र सिद्धान्तलाई पालना नगरी संचालक समिति र प्रवन्धकको लापरबाहीले संचालन भएका सहकारीले बचत फिर्ता गर्न सकेका छ्रैनन्, जनस्तरबाट उठाएको बचतलाई नाफा हुनेतर्फ लगानी नगर्दा बचतकर्ताको ब्याज भन्दा पनि बचत रकम फिर्ता गर्न सहकारीले सकेको छैन्’,– रिजालले भन्नुभयो ‘उजुरी अनुसार बचत फिर्ता गर्न सहकारीको ऋण लगानी कुन क्षेत्रमा भएको छ भनेर अनुसन्धान रजिष्ट्रार कार्यालयले गरेको छ, उत्पादनशिलता भन्दा घरजग्गा, क्षेत्र अधिकारभन्दा बाहिर पुगेर संचालक समितिले लगानी गर्दा सहकारीले बचत फिर्ता गर्न सकेको छैन् ।’
जनस्तरको बचत सहकारीबाट कसरी फिर्ता गर्न सकिन्छ भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तह मिल छलफल गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो । केही सहकारीको संचालक समितिको लापरबाहीले राम्रा सहकारीलाई चुनौती थपिएको छ, राम्रा सहकारीका सेयर सदस्य र संचालकले सहकारीलाई मजबुद बनाउन बोनस कम खाएर संस्थालाई बलियो बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संचालक समिति, कर्मचारी र शेयरसदस्यले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले केही सहकारीको गल्तीले राम्रा सहकारीलाई चुनौती दिएको बताउनुभयो ।
त्यस्तै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले सहकारीले क्षेत्र अधिकारबाहिर पुगेर ऋण लगानी गर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसकेको देखिएको बताउनुभयो । संचालक समितिका अध्यक्ष, सदस्य, प्रबन्धकले आफन्तलाई जिरो प्रतिशत ब्याजमा बचत लगानी गर्ने, अध्यक्षनै ऋणसमितिमा बस्ने, बचत घरजग्गामा लगानी गरेको, घरजग्गामा लगानी गरेको रकम नाफा संचालक समितिलाई, घाटा शेयरसदस्यलाई देखाउने गर्दा बेनी नगरभित्रका केही सहकारीले बचत फिर्ता गर्न नसकेको बताउनुभयो ।
अध्यक्ष र प्रवन्धकको गल्तीले बचत फिर्ता गर्न नसकेको सहकारीको जिम्मेवारी कार्यसमिति सबैले भोग्नुपर्ने बताउनुभयो । ‘नगरमा ५१ सहकारीमध्यै १० सहकारीलाई हटाएर ४१ सहकारी कायम छन् । यी सहकारीमध्ये केही सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी बचतकर्तामार्फत आएका छन् । लेखापरिक्षकको गल्तीले बचतकर्ताको बचत जोखिममा परेको छ,’– उहाँले भन्नुभयो। सहकारीको नाममा रहेको अचल सम्पतीलाई बेचेर सहकारीले चल पुँजी बनाएर अघि बढ्न संचालक समिति, शेयर सदस्य र कर्मचारीलाई प्रमुख केसीले आग्रह गर्नुभयो ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत सुर्यप्रसाद आचार्यले सहकारी संचालकले बचतको रकम मिटर ब्याजमा लगानी गर्ने, बचतलाई ठुला घरजग्गामा लगानी गर्दा सहकारी जोखिममा परेकोे उल्लेख गर्नुभयो। उहाँले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।