म्याग्दी, २१ मंसिर । २०६० साल चैत ७ गते बेनी बजारमा माओवादीले आक्रमण गर्दा माओवादी पक्ष र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर प्वालैप्वाल परेको बिजुलीको पोल १३ बर्षपछि म्याग्दी नै फिर्ता भएको छ। उक्त पोल मदन पुरस्कार पुस्तकालयले २०६७ साल असोज २१ गते पाटनढोकामा रहेको यलमाया केन्द्रमा लगेर राखेको थियो । युद्धको साँछी ७ बर्षपछि यो पोल काठमाण्डौ लगेका थिए ।
शान्ति प्रक्रिया सुरू भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन स्थानीयले माग गरिरहेका थिए। मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राख्न पोल पठाएको फेसबुक मार्फत जानकारी गराउनुभएको थियो । ‘गोली लागेर छिया छिया भएको बिजुली पोल सुरक्षित रूपमा राख्ने गरी बेनी पठाएका छौ ।’
उक्त पोल शान्ति पार्कमा सुरक्षित र प्रदर्शनका लागि राख्नसमेत दीक्षितले आग्रह गरेका छन्। जिल्ला समन्वय समिति म्याग्दीले सशस्त्र द्वन्दको सम्झनासँगै शान्तिको कामना गर्ने र बेनी आक्रमणको साँछीसंगै सचेतना जगाउने उद्देश्यसहित पत्रमार्फत पोल फिर्ताको चिठि पठाएको थियो ।
यसलाई फिर्ता गर्न म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर आग्रह गर्दै आएका थिए। बेनी नगरपालिकाका मेयर सुरत केसीले गोली लागेर छिया छिया भएको पोल शुक्रबार विहानसम्म बेनी आउने जानकारी दिनुभयो । उहाँले लामो समयपछि म्याग्दी फिर्ता पोललाई विरेन्द्रचोक स्थित बराह पाखोमा शान्ति पार्क बनाएर राख्ने योजना रहेको बताउनुभयो ।
बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १२ घण्टासम्म भिडन्त हुदाँ बिजुलीको पोलमा गोली लागेर छिया छिया परेको थियो। भिडन्तमा एक सय जनाभन्दा बढी माओवादी, ५० जनाभन्दा बढी राज्यका सुरक्षाकर्मी तथा १९ जना सर्वसाधरणको मृत्यु भएको थियो। सरकारी संरचनामा क्षति पुगेको थियो ।