हिमाल र सुर्योदय अवलोकन गर्न पुनहिलमा पर्यटक
काेराेला पोस्ट मंसिर १९, २०८० मंगलबार

म्याग्दी, १९ मंसिर । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा विश्वभरका पर्यटकहरू पुग्ने गर्छन। हिमाल र सूर्योदयको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटकको भिड पुनहिलमा लाग्ने गर्छ।

तीन हजार २ सय मिटर उचाईमा रहेको पुनहिलमा प्राकृतिक सुन्दरतामा रमाउन असोज कात्तिक र मंसिरमा आन्तरिक तथा बाह्य पर्यटहरु राम्रो आएका छन् । यस सिजनमा आन्तरिक तथा बाह्य पर्यटक १५ हजार घोडेपानी पुनहिलमा घुम्न आएको घोडेपानी–पुनहिल संचालक समूहका सदस्य अमृत गर्वुजाले बताए । उन्ले विदेशी पर्यटक १२ हजार र नेपाली ३ हजार भन्दा माथि पुनहिल घुम्न आएको जानकारी दिए ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय १० मिटर उचाइमा रहेको घोडेपानीबाट पुनहिलमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने घौलागिरी, निलगिरी, अन्नपूर्ण लगायतका दर्जनौ हिमशृङ्खलाको अवलोकनका लागि विदेशी पर्यटक धेरै आएको छन् ।

म्याग्दीसंगै पोखरा, काठमाण्डौ लगायतका शहर र विभिन्न विद्यालय र कलेजबाट यहाँ घुम्ने पर्यटक आउने गरेका छन् । यहाँको सुन्दरतामा बढी विदेशी पर्यटक रमाउने गर्छन । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले मन आनन्दलाई खुशी बनाएको पोखराबाट समुहमा घुम्न पुगेका रामेश्वर कोईरालाले बताए । प्रष्ट रुपमा देखिने हिमाल, सुर्योदयले पर्यटकलाई लोभ्याउने ठाउँ रहेको उल्लेख उनले गरे ।

घोडेपानीमा बास बस्ने पर्यटकहरु सुर्योदय र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन एकाविहानै करिब एक घण्टा पैदल हिँडेर पुनहिल पुग्दछन् । पर्यटकको आवास सुविधाको लागि घोडेपानीमा दैनिक एक हजार क्षमताको २६ वटा होटल सुविधा संचालनमा रहेको घोडेपानीका पुराना होटल ब्यवसायी एवम् नाईस भ्यू होटलका संचालक ज्ञानबहादुर गर्वुजाले बताए ।

पर्यटकलाई आकर्षित गर्न पुन मगरहरुको ऐतिहाँसिक र साँस्कृतिक पहिचान झल्काउने मगर संग्रहालय संचालन गरिएको छ। पुनहिल प्रवेशद्धार, पुनहिल, र बिच बाटोमा सार्वजनिक शौचालय पदमार्ग लगायतको सुविधा रहेको छ । घोडेपानी र पुनहिल क्षेत्रमा एसियाकै ठुलो गुराँसे जंगलपनि रहेको छ। यहाँ १६ प्रजातीका गुँरास पाईन्छ। भौगोलिक रुपमा विकट भएपनि टेलिफोन, मोवाईल र इन्टरनेट, सडक, बस्ने र खाने सुविधाले पर्यटकको आगमन बढ्दै गएको होटल ब्यसायी बताउछन् ।