अस्पताल र रोजगार सिर्जनाको माग गर्दै युवाको आमरण अनसन
काेराेला पोस्ट मंसिर ४, २०८० सोमबार

म्याग्दी, ४ मंसिर । रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा एक युवा आमरण अनसन बस्नुभएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा रमेश गुरुङ आमरण अनसनमा बस्नुभएको हो ।

सोमबार गाउँपालिका कार्यालयमा आफ्नो दुई बुँदे मागपत्र दर्ता गरी दिउँसो १२ बजेदेखि गुरुङले आमरण अनसन सुरु गर्नुभएको हो । मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतिलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गरिएको छ ।

संघीय सरकारले तीन बर्ष अघि हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना रघुगंगा गाउँपालिकामा अहिलेसम्म पनि अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको हो । जनचासो र गाउँपालिकाको महत्वपूर्ण बिषयलाई जनप्रतिनिधिले वेवास्ता गरेको र जनतालाई धोका दिने काम भएपछि आफुले आमरण अनसन सुरु गरेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो माग सम्बोधन नभएसम्म गाउँपालिका कार्यालय परिसरमै आफ्नो अनसनलाई नतोड्ने बताउनुभयो ।

संघीय सरकारले ०७७ मंसिर १५ मा देशभरका तीन सय ९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । रघुगंगामा अस्पतालको शिलान्यास समेत भएको छैन् । योजना घोषणा गर्दा मन्त्रालयलले वडा नम्बर १ बेगखोला स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने भनेपनि तत्कालिन अवस्थामा तोकिएको साढे ९ रोपनी जग्गाको निशूल्क व्यवस्थापन गर्नुपर्ने मापदण्ड पुरा गर्न कठिन हुने, तत्कालिन बेगखोला स्वास्थ्य चौकीको भवन पुननिर्माणका लागि अर्को ठेक्का लगाइएको, र पालिकाका बहुसंख्यक नागरिकलाई अपायक पर्ने भन्दै कार्यपालिका बैठकबाट पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय भएको थियो ।

पछि बेगका स्थानीयबासीको विरोध भएपछि गाउँपालिकाले पुन: बेगमै अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालको लागि बेगमा साढे ७ रोपनी जग्गा व्यवस्थापन भैसकेको बताएपनि भवन निर्माणको लागि ठेक्का लगाउने काम समेत अझै भएको छैन् । अर्कोतर्फ गाउँपालिकाले थप अर्को अस्पतालको योजना समेत माग गरेपछि रघुगंगामा अस्पताल ‘सेतो हत्ती’ बन्ने जोखिम बढेको छ ।

अस्पताल जस्तो सम्बेदनशिल योजनामा जनप्रतिनिधिकोे राजनीतिक लाभ र दाउपेचमा रघुगंगाको अस्पताल योजना अन्यौल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब तीन वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगंगा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० बेड क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

यस बिचमा बेग र पिप्लेबाट आ–आफ्नै क्षेत्रमा अस्पताल बढाउन विभिन्न दबाब र विरोध भएपछि २०७७ पुस १५ गते बसेको गाउँसभाले बेगका लागि तोकिएर आएको अस्पताल योजनालाई बेगमै बनाउने निर्णय गरेको थियो । २०७८ भदौ ९ गतेको कार्यपालिका बैठकले बेगको अस्पताल योजनालाई यथावत राखेर पिप्ले स्वस्थ्य चौकी स्तरोन्नती गरि पिप्लेमा समेत थप एक अस्पताल बनाउने निर्णय गरेको थियो । एउटै स्थानीय तहमा दुई अस्पतालको माग भएपछि मन्त्रालयबाट बजेट विनियोजनमा समेत अल्झन भएको जनाइएको छ ।