म्याग्दी, ३ मंसिर । जन्मभूमिको माटोमा भविष्य छ भन्ने उचित शिक्षाको अभावले बेरोजार युवाहरुको उत्पादन बढ्दै गएको छ। बेरोजगार युवाहरुको सुरक्षित भविष्यको लागि विदेश जाने क्रम बढ्दो छ ।
युवालाई गाउँमै बस्ने वातावरण बनाउन उनीहरुलाई माटोको महत्व बुझाउनुपर्छ । युवा र माटोको महत्व, मेहनत र उत्पादनबाट आम्दानी गर्ने वातावरण तयार गर्न तीन तहको सरकारका जनप्रतिनिधि, कर्मचारीले ध्यान दिए मात्र देशका नेतृत्वकर्ताले देखेको समृद्धिको सपना पूरा गर्न सकिन्छ ।
युवाहरुलाई माटोबाटै समृद्धि सम्भव छ भन्ने धारणाको विकास गर्न अहिल्यको शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने धारणा बेनी नगरपालिका–३ भकिम्लीका वडाअध्यक्ष पदम पुनको छ। उहाँले युवाहरुलाई जन्मभूमिको माटोको महत्व बुझाउन नसक्दा युवाविहिन गाउँ बन्दै गएको कारण यसतर्फ सबैले सोच्नुपर्ने बताउनुभयो ।
‘गाउँमा बसाइँसराइले र रोजगारीको कारण गाउँको घरहरु खाली हुदै गएको छ । खेतबारी बाँझो हुने क्रम बढेको छ। माटोमा श्रम गर्ने जनशक्तिको अभाव बढेको छ,’– वडाअध्यक्ष पुनले भन्नुभयो। ‘देशमा प्रशस्तै सम्भावना रहेकाले यसको सही सदुपयोग गर्नसके यही माटोमा हिरा, मोती, सुन, चाँदी फलाउन सकिन्छ भन्ने सोचको विकास गर्ने शिक्षा हुनु अहिलेको आवश्यकता हो ।’
उहाँले राज्य र स्थानीय तह जिम्मेवार नबन्दा युवाले स्वदेशमै रोजगारी प्राप्त गर्न नसकेका कारण शिक्षित युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कामका लागि जान बाध्य हुनु दुर्भाग्य भएका बताउनुभयो ।
युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी तीन तहको सरकारको हुन्छ । कृषि र पशुपालनमा लागेको किसानलाई सुरक्षित बजारको ब्यवस्थापनमा राज्य नलाग्दा छोड्ने क्रम पनि बढेको छ । अनुदान बास्तविक किसानले पाउन सकेका छ्रैनन् । अहिल्यसम्म यसतर्फ राज्यको नेतृत्वकर्ता जिम्मेवार बन्न सकेका छ्रैनन् । शिक्षा प्रणालीलाई परिवर्तन गरेर देशको सम्भावनामा रम्ने वातावरणको ज्ञान र सिप युवालाई उपलब्ध गराउने काम सरकारले गनुपर्छ । युवाले स्वदेशमा देखेको सपना पुरा गर्ने वातावरण बनाउन जनप्रतिनिधि र कर्मचारी प्रतिवद्ध भएर लागेका छ्र्रैनन् ।
जनताले सवल, विकसित, शान्त र समृद्ध राष्ट्रको सपना देखेका हुन्छन्‚ जसमा आफ्नो र आफ्ना सन्तानको भविष्य सुखी, शान्त र समृद्ध होस् भन्ने चाहना राखेका हुन्छन् । स्वदेशमा राज्यका नेतृत्वकर्ताले युवाहरुको सुरक्षित भविष्य बनाउने योजना र काम नगरेपछि जनताले छोराछोरीलाई विदेश पठाउने संस्कृति बढ्दै गएको देखिन्छ।
राज्यसत्ता देशमा युवाले देखेको सपनाभन्दा पुरा गर्ने भन्दा आफ्नै स्वार्थ र ईच्छामा लिप्त हुन्छन्‚ तब जनताको भरोसा र सपना टुट्छ र देशका युवा शक्ति सुरक्षित भविष्यको खोजीमा पलायन रोज्छन् । देशको माटो र युवालाई राम्रोसंग परिचालन गरेर मात्र समृद्धिको यात्रा सम्भव छ भन्ने वातावरण तयार गर्न ब्यवहारिक र प्रविधिमैत्री शिक्षामा राज्यले लगानी बढाउनुपर्छ ।
तस्बिर : बेनी नगरपालिका–३ भकिम्लीका किवि खेती कृषक लालबहादुर घर्ति ।