कृषकलाई अनुदानमा कृषि सामग्री वितरण
Koralapost चैत्र २३, २०७७ सोमबार

म्याग्दी, २३ चैत । ब्यवसायकि रुपमा कृषि कर्ममा लागेका कृषकलाई रघुगंगा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । कृषकको ब्यवसायिक खेतीलाई गुणस्तर बढाउन औजार खरिदमा अनुदान उपलब्ध गराएका हुन् । २६१ जना किसानलाई प्लास्टिक टनेल, ७८ जनालाई स्प्रे, ७४ जनालाई सिकेचर, २९ जनालाई यान्त्रिक हलो, १० वटा पिसानी मिल, ८ वटा चापाकटर र १३ वटा थ्रेसर वितरण सुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक मनोज सुवेदीले जानकारी दिए ।

किसानलाई सामान खरिदको कुल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ’, उनले भने, ‘कृषि सामग्री खरिदमा ८लाख र यान्त्रिकीकरणका लागि १६ लाख रुपैयाँ विनियोजन गरेको थियो । किसानसहित ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरियो । किसानको माग अनुसार टनेल, सिकेचर, स्प्रे र बिउबिजन अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
विभिन्न फार्मलाई प्रतिस्पर्धा गराएर सामान खरिदको न्यूनतम मूल्य राखेर छनोट गरिएको र किसानमार्फत नै भुक्तानी हुने प्रक्रियामा छ । १२० ग्रामको ६ मिटर चौडाइ र १२ मिटर लम्बाइको प्लास्टिक टनेल प्रतिगोटा ५ हजार ८००, डिजेलबाट चल्ने ५.५ हर्षपावर क्षमताको यान्त्रिक हलोलाई ४७ हजार, घाँस पराल काट्ने चापाकटर प्रतिगोटा ३८ हजार रुपैयाँका दरले उपलब्ध गराइएको थियो ।

पिसानी मिल प्रतिगोटा २३ हजार ८००, थ्रेसर प्रतिगोटा ५९ हजार, सिकिचर प्रतिगोटा १ हजार ५० र स्प्रेयर २ हजार ५० रुपैयाँ न्यूनतम मूल्यमा सामान आपूर्ति गर्ने कबोलेका थिए । कुल मूल्यको ५० प्रतिशत किसान, फार्म, सहकारी र समूहले बेहोरेका हुन् ।

कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुविधा नपाएका साना किसानलाई लक्षित गरेर सामग्री र औजार वितरण गरेको उपाध्यक्ष कमला तिलिजाले बताइन् । वडानम्वर ३ का कृषक सुनिता भण्डारीले अनुदानबाट प्लास्टिक टनेल लगायतका सामाग्री सहयोग ब्यवसायीक खेतीमा सहज हुने बताईन ।