म्याग्दी, १५ असोज । मौरिज हर्जोग पदमार्गमार्फत आठ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् । समुन्द्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्मको पदमार्ग सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको त्यहाँ पुगेका पर्यटक बताउछन् ।
प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर तयार पदमार्ग सुरक्षित भएकोले पछिल्लो समय घुम्न आउने पर्यटक बढेको अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङका पर्यटन ब्यवसायी तेज गुरुङले बताउनुभयो ।
नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ ।

सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायीसमेत यस क्षेत्रको प्रवद्र्धनमा जुटेका छन् ।
सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरेका थिए । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण कार्य सकिएको छ भने ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएको छ । पदमार्गअन्तर्गत आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, संधिखर्क, हुमखोला र छोटेपामा आश्रयस्थल निर्माण भैसकेको छ ।
पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको छ । वरिपरि अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ । हिमालको फेदीमा रहेको विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण मानिन्छ । यस पदमार्गमा पञ्च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेको देखिने आकासे गुफा समेत पर्यटकले देख्न पाउछन् ।
हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसका रुपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको गुराँसको फूल पदमार्गको दायाँबायाँ पर्यटकले देख्न पाउछन्। पदमार्गमा लौठसल्ला, भोजपत्रका हिमाली रुख विरुवासँगै यार्सागुम्बालगायतका जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाललगायतका बन्यजन्तु र पंक्षीहरुहरुलाई समेत अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी तेज गुरुङ बताउनुभयो । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्न सकिन्छ ।
अन्नपूर्ण हिमालको आधार शिविर पुग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा देशका विभिन्न ठाउँबाट अवलोकन र भ्रमणको लागि आउनेहरु बढेका छन् । आधार शिविर क्षेत्रमा होटल, खानेपानी, सञ्चार र शौचालयको अभाव छ ।
यस पदमार्गको हुमखोलासम्म सामान्य होटल रहेपनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि होटल सुविधा छैन । होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकले खाना र बसोबासको बन्दोबस्तको सामग्री आफैँ बोकेर लैजानुपर्छ ।