नेपाल जेसीजद्धारा म्याग्दीका चार जना सम्मानीत
काेराेला पोस्ट आश्विन ४, २०८० बिहीबार

म्याग्दी, ४ असोज । म्याग्दीका चार जना युवाहरु सम्मानित भएका छन् । सदरमुकाम बेनीमा सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दीका चार जना युवाहरु सम्मानीत हुनुभएको हो। जेसीजले भेडापालक कृषक हिमबहादुर छन्त्याल, वन पैदावार एवम् अल्लो लघुउद्यमी किरन थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पुर्‍याएका इन्द्रसिंह शेरचन र गायन क्षेत्रमा चर्चित प्रकाश दुतराजलाई सम्मान गरेको हो ।

म्याग्दीमा जन्मिएर कलाकारिता, पशुपालन, लघुउद्यम र समाजसेवामा फरक पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुई दशक लामो वैदेशिक रोजगारिबाट फर्किएपछि व्यावसायिक घुम्ती गोठको भेडापालन गर्दै आउनुभएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले ६ सय बढी भेडा पाल्दै आउनुभएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीका किरन थापाले जंगलमा खेर गएको अल्लोबाट कपडा बनाउने उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँको उद्योगबाट अल्लोबाट धागो र कपडा उत्पादन हुँदै आएको छ ।

बेनी–जोमसोम –कोरला सडक आयोजनामा कार्यरत मुस्ताङ घर भई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा बसोबास गर्दै आउनुभएका इन्द्रसिंह शेरचनले पहिरो र बाढीको समयमा यात्रु र सर्वसाधारणलाई आवत जावतमा स्वयंसेवी रुपमा जोखिम मोलेर सघाउँदै आउनुभएको छ । त्यसैगरि गीत संगीतको क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल म्याग्देली गायक प्रकाश दुतराजलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेश सभा सदस्यद्धय हरि भण्डारी, विमला गौचन, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, सम्मेलन सभापति रजनी थापा, सम्मेलन निर्देशक सुविन श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँ लगायतले अविर, दोसल्ला र सम्मानपत्र सहित नगदद्धारा सम्मान गर्नुभएको थियो ।