भगवती कोत मन्दिरको पुननिर्माण सुरु
Koralapost चैत्र १२, २०७७ बिहीबार


म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो ।

योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ । भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले मन्दिरका महत्वपूर्ण सामान बाहिर निकाल्न र भत्काउनका लागि क्षमा पुजा गरिएको समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए । स्थानीयबासी समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, वडा अध्यक्ष कटुवाल लगायतको उपस्थितिमा क्षमा पुजा गरिएको थियो ।

विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले भ्याट सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरि कार्यक्षेत्रमा प्रारम्भीक चरणका काम सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि राजिब ढुंगेलले बताए ।

विभागका प्राविधिक सहितको टोली र स्थानीय जनप्रतिनिधि र सरोकारवालासंग प्रारम्भीक चरणको छलफल गरिसकिएको र आबश्यक सामागी जुटाएर कार्यक्षेत्रमा अर्को परिचालन हुने जानकारी दिएको छ।

क्षमा पुजामा सहभागी प्रदेश सभा सदस्य विनोद केसीले सयौँ बर्ष पुरानो जिर्ण मन्दिरलाई जिर्णउद्धारको लागि प्राप्त योजनालाई स्थानीय मौलिकता नमासिने गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । मन्दिरमा आधुनिक निर्माण सामाग्रीको प्रयोग नगरिकन मौलिकतामै आधारित रहेर बनाउने योजना पुर्ननिर्माण गर्न निर्माण कम्पनी आग्रह गरेका छौँ ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ ।