म्याग्दी, १८ जेठ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको अन्नपूर्ण आधार शिविर स्थित अन्नपूर्ण, तिलीचो र निलगिरि हिमालको फेदीमा रहेको गोलो आकारको पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बनेको छ। चर हजार एकसय मिटर उचाईमा अवस्थित धार्मिक महत्वसंग जोडिएको पञ्चकुण्ड तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । आधार शिविरको समथर फाँट वरिपरि सुक्खा र उजाड पहाडको फेदीमा निलो तलाउ, तलाउ नजिक रहेका अग्ला हिमाल, सुर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण, निलगिरी लगायतले हिमालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको छ भने तालमा अन्नपूर्ण हिमालको छायाँ अवलोकन गर्न पाईन्छ ।

समुद्रीसतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित २० बर्ग किलोमिटरमा फैलिएको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा पहिल्य थिएन् । हिमाल चढ्न जाने आरोही, घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकलाई हिमालले भन्दा तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउने गरेको छ। ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट त्यहाँ पुग्ने पर्यटकलाई मेटाउँछ ।

आधार शिविरको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन । यसलाई ब्यवस्थित रुपमा पूर्वाधार निर्माण गरेर पर्यटन हवको रुपमा विकास गर्नुपर्ने त्यहाँ पुगेका रघुगंगा गाउँपालिका– ३ राखु पिप्लेबाट पुगेका पर्यटक कमल खत्रीले बताए । “आधार शिविरमा आउदा हिमालको फेदीमा रहेको नीलो ताले मोहित बनायो” खत्रीले भने, “यस क्षेत्रलाई प्रसारप्रचार मार्फत अघि बढाउन सके टुरिजम हवको रुपमा विकास गर्न सकिने छ ”प्राकृतिक र धार्मिक महत्वसंग जोडिएको तालमा रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल रहेको कारणले यसलाई पञ्चकुण्ड तालको रुपमा नामाकरण गरिएको मौरिज हर्जोग पदमार्ग समितिका अध्यक्ष तेज गुरुङले बताए ।

हिमाल चढ्न आउने शेर्पाले यसलाई डिकिचो ताल ( जम्ने ताल) नामाकरण गरेका थिए भने अहिल्य पञ्च कुण्ड ताल नामाकरण गरिएको छ। ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । कुण्डमा स्नान गरेर धार्मिकपुजाआजा गर्ने गर्छन । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । आगामी दिन धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न धार्मिक पूर्वाधार निर्माण योजना पनि अघि बढाउने तयारी भएको गुरुङले बताए ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आरोहण गरेको ८ हजार ९१ मिटर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग पदमार्ग’ले एक दिनमा आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माण गरेका छन् । सडक, पदमार्ग सेल्टर लगायत पूर्वाधारलाई स्तरोन्नती र थप गर्न अन्नपूर्ण गाउँपालिकाले आगामी बर्ष बजेटमा प्राथमिकता दिने योजनासहित पर्यटन प्रवद्र्धनबाट पहिचान भएका समस्यालाई समेट्ने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए ।
मनमोहक दृष्य देख्न सकिने यस क्षेत्रमा घुम्न आउन स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँपालिकाले आग्रह गरेको छ। यस क्षेत्रमा आउन सुरक्षित पदमार्ग बनेको छ” सुवेदीले भने,“सहज पहुचँ भएकोले एक दिनमा यसको अवलोकन गर्न पर्यटकलाई सहज छ।” ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल ब्यवस्था छ । अन्नपूर्ण गाउँपालिकाको नारच्याङ गाउँदेखि २० किलामिटर सडक यात्रामा हुमखोला पुगेपछि पदैलयात्रामार्फत फुतफुते झरना, सन्र्धिखर्क गुफा, बुस्केटमेला, सुनखोला हुदै विभिन्न सेल्टरमा आराम गर्दै पञ्चकुण्ड ताल पुग्न सकिन्छ ।