बेनी, ११ जेठ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्लाको सुविधा दिन सरकारसंग माग गरेका छन् । बि.सं. २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीलाई बिषेश बजेटको ब्यवस्था मिलाउन प्रतिनिधि सभा बैठकमा माग गरेका हुन् ।
बुधवारको प्रतिनिधिसभामा जारी सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै साँसद गर्वुजाले २०७७ सालमा हिमाली जिल्लामा सूतीकृत भएको म्याग्दीलाई विकास निर्माण र जनताको जनजिविकामा सुधार ल्याउन हिमाली जिल्लाको प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न ध्यानकर्षण गराए । म्याग्दी हिमाली जिल्लामा सूचिकृत भएपनि अहिलेसम्म हिमाली जिल्लाको सुविधा पाउन भने सकेको छैन् ।
उनले जिल्ला सदरमुकाम बेनीमा रहेको म्याग्दी जिल्ला अस्पतालमा राजनीतिक स्वार्थ पुरा गर्न अस्पतालको नामकरण बेनी राखिएको र प्रदेश मातहतमा राखेको भन्दै अस्पतालको नाम म्याग्दी जिल्ला अस्पताल राख्न र अस्पताललाई संघीय सरकार मातहत राखेर स्तरीय सेवा प्रवाह गर्नतर्फ सरकारको ध्यानकर्षण गराउनुभयो ।
संसदमा पहिलो पटक सम्वोधन गर्नुभएका साँसद गर्वुजाले म्याग्दी हुँदै गुर्जाघाट भएर पूर्वि रुकुम जोड्ने सडक बागलुङ हुँदै विस्तार भएको मध्यपहाडी राजमार्गभन्दा ७० किलोमिटर छोटो पर्ने भएकाले उक्त योजनालाई प्राथमिकतामा राख्न अनुरोध गर्दै मध्यपहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने बिषयमा सम्बन्धित मन्त्रीको जवाफ माग समेत गर्नुभयो ।
साँसद गर्वुजाले बेनी बजार संरक्षण योजना र बेनी–जोमसोम सडकखण्ड स्तरोन्नतीमा भएको ढिलासुस्तीप्रति ध्यानकर्षण गराउँदै प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी कुण्डको पुर्वाधार निर्माण, बजार तथा विद्यालयलाई नदि कटानको जोखिमबाट कम गर्न तटबन्धका लागि आबश्यक बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।