म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण हिमालको (८०९१) आधार शिविरमा खेलकुद प्रतियोगिता गरिएको छ। नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि चार हजार १९० मिटर उचाईमा रहेको आधार शिविरमा विविध खेलकुद प्रतियोगिता गाउँपालिकाले सम्पन्न गरेको हो ।
अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यले आधार शिविरमा मैत्रीपूर्ण दौड, छेलो फाल्ने र अन्धनिसानी प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए । जेठ ४ गतेदेखि ७ गतेसम्मको स्थलगत अन्तरक्रिया कार्यक्रम अन्तरगत शनिबार अन्नपूर्ण हिमालकै फेदीमा आयोजित एक सय मिटर दौड प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी, पत्रकार र पर्यटन ब्यवसायी लगायत ३० जनाको सहभागि भएका थिए ।

दौड प्रतियोगितामा पत्रकार सन्दिप शर्मा रिजाल प्रथम, यामप्रसाद पुर्जा पुन द्धितिय र विष्णु प्रसाद रिमाल तृतिय भएका थिए । दौडतर्फ प्रथम, द्धितिय र तृतियलाई क्रमशः नगद रु तीन हजार, दुई हजार र एक हजारसहित पुरस्कृत गरिएको थियो । त्यसैगरि छेलो फाल्ने प्रतियोगितामा विजयी हुन सफल यामप्रसाद पुर्जा पुनलाई नगद रु ३ हजार सहित प्रमाणपत्रमार्फत पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नम्बर ४ नारच्याङका वडा अध्यक्ष लोक बहादुर फगामी, वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा, ८ का अध्यक्ष खमबहादुर गर्वुजा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र पदमार्गको प्रबद्र्धन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पर्यटन ब्यवसायी र पत्रकारहरुको टोली पैदलयात्रा मार्फत आधार शिविर पुगेको थियो ।
अन्नपूर्ण हिमाल आठ हजार मिटर भन्दा अग्लो हिमालहरु मध्येमा पहिलो मानव पाइला परेको जेठो हिमालको रुपमा परिचित छ । हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधार शिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भैसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडक सुविधा रहेको ‘मौरिस हर्जोग’ पदमार्गमा हुमखोलादेखि आधार शिविर सम्मको २२ किलोमिटर दुरीमा पर्यटन मन्त्रालय, गाउँपालिका र एक्यापको सहयोगमा पदमार्ग आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार बनाएपछि नर्थ अन्नपूर्ण आधार शिविर विदेश र स्वेदशी पर्यटकको आगमन बढेको छ।