म्याग्दी, ४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा दुर्गम बस्तीको रुपमा परिचित छ । गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको गुर्जाका स्थानीयमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । गुर्जाबासी सरकारी सेवा लिन गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । पौढ र युवायुवतिहरु गुर्जादेखि पैदल यात्रा गरि सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भएपनि बालबालिका र बृद्धबृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन् । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको रु २० लागत पर्छ । ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महङ्गीको मारमा समेत छन् ।

खाद्यान्न लगायतको सामाग्रीहरु खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाईप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आउनुभएका युवा लोकबहादुर रसाईलीले जानकारी दिए । सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने विरामीहरुलाई डोको र पिठ्युमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर छन्त्यालले बताउनुभयो । एक गाउँ एक वडाको रुपमा रहेको गुर्जामा २७० घरधुरी रहेका छन् । दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको छ।
विगतमा गाउँपालिकाको केन्द्र मुना सम्म नै पैदल यात्रा गर्दै आएका गुर्जालीलाई यो बर्ष करिब साढे एक घण्टाको पैदलयात्रा छोटिएको छ । मुनादेखि खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ । लुलाङदेखि गुर्जा ६ देखि ८ घण्टाको पैदलयात्राको हो । सडक सञ्जाललाई गाउँ सम्म नै पु¥याउने हरेक गुर्जालीको सपना बनेको छ । यस बर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्याक निर्माण गरिएको छ।
लमसुङ गाउँको शिरमा भने पहिरोको जोखिम कम गर्न १२० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन सडक खनेका हुन् । लमसुङदेखि लुलाङसम्म करिब २ किलोमिटर २ सय मिटर सडकको ट्याक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्याक निर्माण गर्न परिचालन गरिने भएको छ । नयाँ ट्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए । आगामी बर्ष गाउँपालिका, प्रदेश र संघीय सरकार मार्फत समेत प्रयाप्त बजेट व्यवस्थापन गर्नतर्फ प्रयास थालेका छौँ ।
लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्याक निर्माण गर्न करिब ७ करोडको बजेट अनुमान गरिएको छ । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले लुलाङदेखि गुर्जा सम्मको सडकको दुरी १६ किलोमिटर कायम हुने अनुमान छ । पहाडी भिर हुँदै करिब ३ हजार ३ सय मिटर उचाईको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौतिपूर्ण मानिएको छ । लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनै सम्म जोड्ने गरि अघि सारिएको वडा अध्यक्ष छन्त्यालले बताए । गुर्जाबाट रुकुमको पुथा उत्तरगंगा गाउँपालिका हुँदै डोल्पाको दुनै सम्म सडक विस्तार गर्न सकेमा कर्णाली –लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दुरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने छ ।