म्याग्दी, १२ बैशाख । ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसको अवसरमा मंगलबार बेनीमा पत्रकारसंग अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले दिवसका अवसरमा पत्रकारसंग औलो रोगसम्वन्धी अन्तरक्रिया गरेको हो ।
म्याग्दीमा ओलो रोगका विरामी शुन्य भएपनि हाल कम जोखिमयुक्त क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका एकनाराण लम्सालले जानकारी दिनुभयो । उहाँले खुला सीमानाका र भौगोलिक विकटताले औलो निवारणमा आगामी दिन चुनौती रहेको बताउनुभयो । आयातित औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमाना र भौगोलिक विकटताले औलो निवारणको चुनौती रहेको कारण यो रोग लाग्नबाट सचेत रहन जिल्लाबासीलाई आग्रह गर्नुभएको छ।

स्वास्थ्य कार्यालय सूचना अधिकारी गणेश सुवेदीले औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग भएको बताउनुभयो । उहाँले औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । म्याग्दीमा औलो विरामीको परिक्षण न्यून, औलो रोगका विरामीको परिक्षण प्रभावकारी रुपमा नहुनु, स्थानीयस्तरमा तालिम प्राप्त स्वास्थ्य कर्मीको अभावले हिमाली जिल्ला म्याग्दीमा जोखिम बढ्दै गएको छ । जिल्लाका स्वास्थ्यमा संस्थामा परिक्षणका गुणस्तरीय सामानहरु उपलब्ध गराउन पहल गर्नुपर्ने अन्तरक्रियामा सुवेदीले उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले औलो रोग सम्वन्धी जनचेतनामूलक कार्यक्रम मार्फत जिल्लाबासीलाई सचेत गराउनुपर्ने देखिएको बताउनुभयो । त्यस्तै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारीको उपस्थित रहेको थियो । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो नियन्त्रण गर्ने योजना छ ।