मल्कवाङ, ८ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कवाङ स्थित भ्वाङेमा रहेको जिल्लाकै सबैभन्दा ठुलो भेडाबाख्राको बथान । मल्कवाङका हिमबहादुर छन्त्याल (देवान) ले पुर्खाहरुले जीवन विताएको जङ्गल र भिरपाखाहरुमा परम्परागत भेडाबाख्रा पालनलाई ब्यवसायीक रुपमा निरन्तरता दिनुभएको छ।

उहाँको गोठमा भेडाबाख्रा र पाठापाठीसहित ६ सय भेडाबाख्रा छन् । तीन जना भेडाबाख्रा निगरानी गर्नै हेरालु छन भने रातमा भेडाबाख्राको सुरक्षा गर्ने चार वटा कुकुर पाल्नुभएको छ। भेठीगोठमा बिहान उठेपछि भेडाबाख्राको सङ्ख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने, लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुन: गोठमै फर्काउने काम ब्यस्त छन् भेडापालक ब्यवसायी छन्त्याल ।

घनघोर जङ्गल र पहाडहरुमा वर्षात्, हिमपात, केही भन्न पाइँदैन, गोठालो दैनिकी प्रकृति र भेडाबाख्रासँग वित्छ। एक करोड भन्दा बढी लगानी गरेको भेडापालन पेशामा अवसर र चुनौती दुवै रहेको छन्त्याल बताउछन् । धवलागिरि गाउँपालिका क्षेत्रमा घुम्ती चरणमा मार्फत भेडापालनको प्रचुर सम्भावना छ ।

हिउँदमा वेँसीदेखि बर्खायाममा धवलागिरि हिमालको आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । असारको पहिलो हप्ता हिमाल फेदीमा गोठलाई लैजाने योजनामा छन् । उत्पादन भएको खशीबोका किन्नका लागि ब्यापारी गोठमै पुग्ने गर्छन ।
