गलेश्वर मन्दिरको छाना पित्तलले छाउने निर्णय
Koralapost फाल्गुन १६, २०७७ आईतबार


म्याग्दी, १६ फागुन । म्याग्दीको गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।
मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न थप पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताए । गलेश्वर क्षेत्र भित्र रहेका अन्न क्षेत्र,ज्येष्ठ नागरिक आश्रम र विद्यालयको विकासका लागि योजाबद्ध रुपमा अगाडि बढ्न आग्रह गरे ।
सभामा आजिवन सदस्य शर्माले गलेश्वर मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता गर्दै आफ्रनो बुवा राधाकृष्ण शर्माले गलेश्वर क्षेत्रको विकासका लागि थालेको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
सभामा प्रस्तुत भएको कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षको प्रतिवेदन,सचिव माधव रेग्मीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बमबहादुर पुनको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ ।
सभामा कोषाध्यक्ष पुनले पौष मसान्त सम्म गत वर्षको समेत गरि २ करोड ८६ लाख, २० हजार ७ सय २८ रुपियाँ आम्दानी र पौष मसान्त सम्म खर्च रु १९ लाख ६७ हजार ८ सय १४ खर्च भई कोषको कुल वचत रु २ करोड ६६ लाख ५२ हजार ९ सय १३ रुपियाँ बचत रहेको प्रतिवेदनमा छ।