म्याग्दी,६ फागुन । महाशिवरात्री पर्वको अवसरमा बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड छ। महाशिवरात्री पर्वको अवसरमा गलेश्वरधाममा म्याग्दी जिल्लासहित बागलुङ, पर्वत पोखरा र काठमाण्डौ लगायतको ठाउँबाट पुजाअर्चना गर्नका लागि भक्तजन आएका छन् । मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरुले भजनकिर्तनका साथै नौमती पञ्चेबाजा बजाएका छन् ।

गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास रहदै आएको छ । शिवरात्री पर्वको अवसरमा गलेश्वर मन्दिरमा ३० हजार भक्तजनले पुजाआजा र दर्शन गर्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माघवप्रसाद रेग्मीले बताए । २२ वटा उपसमिति बनाएर मन्दिर दर्शन गर्ने भक्तजनहरुको व्यवस्थापन गरिएको कोषले जनाएको छ।

महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटक बढेका छन् ।

९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित गलेश्वर मन्दिरभित्र शिव लगायतका भगवानलका मूर्तिहरु राखिएको छ । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाममा हिन्दु धर्मावलम्वीहरुको साझा तिर्थस्थल मानिन्छ । गलेश्वर मन्दिरमा साउने सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष पुजाआजा हुँदै आइरहेको छ ।

मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई कोषमार्फत व्यवस्थापन गरी मन्दिरको भौतिक पूर्वाधार विस्तारमा लगानी गर्ने गरिएको छ । यसैबीच जिल्लाका विभिन्न स्थानमा रहेका शिवालय मन्दिरमा समेत भक्तजनको भिड लागेको छ ।




