म्याग्दी १६ माघ । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो ।
यसैगरी उपविजेता महेन्द्र रत्न मावि वंरजाले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गरेर द्धितिय हुन सफल भएको छ भने प्रतियोगितामा तृतीय भएको डनिङ बोर्डिङ स्कुलले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ ।
प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद ५० हजार रुपैयाँ पुरस्कार, द्धितीयले ३० हजार, तृतीय हुनेले २० हजार रुपैयाँ नगदका साथमा ट्रफी र मेडल पाएका छन् । प्रतियोगिताका विजेता विद्यालय र खेलाडीहरुलाई जिल्ला समन्वय समितिको उपप्रमुख डिलकुमारी खत्री,गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, र कार्यपालिका सदस्यहरु लगायतले नगद पुरस्कार, शिल्ड,मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तीन दिनसम्म मंगला मावि र मालिका जनहित बोडिङ स्कुल परिसरमा सञ्चालन भएको प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्डी र भलिबल गरी १५ वटा इभेन्ट्मा ३० वटा पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । तिनदिन सम्म संचालन भएको प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।