जिसस म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न
Koralapost फाल्गुन १५, २०७७ शनिबार


म्याग्दी,१५ फागुन । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ।


जिसस कोष र स्थानीय तहको साझेदारीमा सञ्चालित आयोजना कार्यान्वयनमा तदारुकता दिने, स्थानीय तहले गौरवका आयोजना अनुगमनका लागि जिससलाई बिबरण उपलब्ध गराउने र विभिन्न बिकास आयोजना सम्बद्ध प्रदेश तथा संघ सरकारका मन्त्रालयमा माग गर्ने निर्णय पनि गरेको छ । हाल काठमाडौको मदन पुरस्कार गुठीमा रहेको बेनी आक्रमणको चिनो मानिएको गोली लागेर छिया छिया भएको बिद्युतको पोल जिल्लामा ल्याएर संरक्षणसँग पर्यटन प्रर्वद्धनमा प्रयोग गर्ने निर्णय समेत भएको छ । ढिलासुस्ति भएका विकास आयोजना निर्माणलाई तिब्रता दिन समन्वय, अनुगमन र सहजिकरण गर्ने बिषयमा जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।


बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर पिप्ले भगवति, पोखरेबगर घार चित्रे लगायत सडक, नदी नियन्त्रण, खानेपानी लगायत ढिलासुस्ति भएका आयोजनालाई गति दिन अनुगमन र सम्बद्ध निकायमा पहल गर्ने बिषयमा सभामा छलफल भएको थियो । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बिषयगत कार्यालयले समन्वय नगरेको, बिद्युत, पुर्बाधार बिकासका योजना अलपत्र परेको भन्दै ध्यानाकर्षण गराएका थिए ।


हिमाली जिल्लाको सुबिधासंगै पालिका र वडा थप्ने निर्णय
म्याग्दीको सबै क्षेत्रमा हिमाली जिल्लाको मापदण्ड लागु गरेर सेवा सुबिधा लाग गर्न संघीय सरकारलाई माग गरेको छ । गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि आरक्षण कोटा, कर्मचारीको सेबा सुबिधा र अन्य बिषयमा लागु भएको छैन् । पहिरो पीडितको घर पुननिर्माणका लागि भने हिमाली जिल्लाको सुबिधा कार्यान्वयन भएको छ ।

सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका बिभाजनको निर्णय कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय समेत भएको छ । धवलागिरी गाउँपालिकाको सभामा वडा न. ४ मुदी र ७ ताकमलाई २÷२ वटामा बिभाजन गर्ने निर्णय भएको थियो । रघुगंगा गाउँपालिकालाई दुई वटा पालिकामा बिभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्ला सभाले निर्णय गरेको छ । पुषको १५ गते भएको रघुगंगाको गाउँसभाले रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गरेको थियो ।
वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जिल्ला सभामा प्रस्ताव गर्नुभएको थियो । यसैगरी ठूलो भूगोलमा छरिएका अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ७ हिस्तानलाई बिभाजन गरेर दुई÷दुई वटा वडा बनाउन सिफारिस भएको छ । सेवाप्रवाहमा नागरिकको सहज पहुँच र बिकास निर्माणलाई ब्यवस्थित गर्न वडा बिभाजनको सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष डमबहादुर पुनले प्रस्ताव गर्नुभएको थियो ।


जिसस उपप्रमुखको नैतिकतामा प्रश्न

सभामा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जिसस उपप्रमुख लोकबहादुर मल्ल सभा र बैठकमा उपस्थित नभएर गैरजिम्मेवार बनेको भन्दै सचेत बनाउनुपर्ने प्रस्ताव गरेकी थिईन । जिसस उपप्रमुख मल्लको भूमिकाका बिषयमा बारेमा निर्वाचित गराएको पार्टी नेपाली काँग्रेसका नेता र जनप्रतिनिधिहरुले पनि असन्तुष्टि जनाउदै आएका छन् । जिससले आयोजना गर्ने अधिकांश कार्यक्रम र बैठकमा भौतिक रुपमा उपस्थित नभएपछि उपस्थिति र निर्णय पुस्तिकामा भने हस्ताक्षर गदै आएका छन् ।
काँग्रेसबाटै निर्बाचित जिसस सदस्य रामदेवी पुनले उपप्रमुख मल्लको निष्क्रियताको बिषयमा प्रश्न उठाएपनि नेकपाबाट निर्वाचित जिसस प्रमुख केसी र सदस्य शेरबहादुर केसीले भने मल्लसँग समन्वय भइरहेको र जिससको काम कारबाहीमा कुनै असर नपरेको स्पष्ट पारेका थिए । सेवा सुबिधा लिने तर जिम्मेवारी अनुसारको काम नगरेको भन्दै जिसस र सभाका सदस्यहरुले उपप्रमुख मल्लको नैतिकताप्रति पश्न गरेका थिए । सभामा निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले गत आर्थिक वर्ष २०७६÷७७ मा गरेका मुख्य मुख्य क्रियाकलाप र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेश गरेका थिईन । चालु आर्थिक वर्षमा जिससलाई विभिन्न शिर्षकमा एक करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी गराइएको थियो । जिसस प्रमुख केसीले हालसम्म गरेका कामको समिक्षासँगै बाँकी कार्यकाल सफल र प्रभावकारी बनाउन सक्रीय समन्वयका लागि पालिकाका पदाधीकारीलाई आग्रह गरे ।