म्याग्दी, १ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लैजाने भएको छ । भारतको अयोध्यामा लैजाने कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल अयोध्यामा मुर्तिका रुपमा राख्न लागिएको हो ।
अयोध्यामा निर्माणधिन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य मुर्ति बनाएर राख्नका लागि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा पहिचान गरेका दुई थान शिलाको आइतवार पूजा सहित हस्तान्तरण गरिएको हो । शिला उत्खनन पूर्वको क्षमा पुजा गरि जानकी मन्दिरका महन्तलाई अयोध्या पु¥याउने जिम्मेवारी सहित शिलाको प्रतिमा हस्तान्तरण गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए । ‘‘आज औपचारिक रुपमा हामीले जानकी मन्दिरलाई शिला हस्तान्तरण गरेका छौँ, अब क्रेन लगाएर शिलालाई ट्रकमा राखेर लैजाने काम हुन्छ’’–मेयर केसीले भने । क्षमा पूजा गरेपश्चात मेयर केसी र प्रदेश प्रमुख गुरुङले जानकी मन्दिरका महन्तलाई शिला हस्तान्तरण गर्नुभएको थियो ।

भूर्गभविद् र विज्ञ सहितको टोलीले अयोध्या लैजान पहिचान गरेका क्यालसाइट र क्वार्जराइट नामका १६ र १८ टनका दुई शिलालाई हस्तान्तरण गर्नुपूर्व शनिवार उच्चस्तरीय टोलीले अवलोकन गरेका थिए । कालीगण्डकीको शिलालाई मुख्य मुर्तिको रुपमा राख्नका लागि लैजान लागिएको छ । अयोध्यामा निर्माणधिन राम मन्दिरमा मुख्य मुर्तिका रुपमा राख्न लैजान लागिएको कालिगण्डकीको शिलाको आइतबार पूजापाठ गरिएको छ । कालीगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्य एवम् पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्सिंह पंकज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गरेका थिए ।
कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए । ‘‘नेपालको कालीगण्डकीबाट भगवान रामको मुर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएका छौँ’’–उनले भने ।
देवशिलाको नाम दिइएका दुई शिला १ हजार बर्षभन्दा बढी टिक्ने पुष्टि भएको छ । प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव पंकज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले करिब दुई साता लगाएर म्याग्दी स्थित कालीगण्डकी नदिमा उपयुक्त शिला खोजेर पहिचान गरि नाँपजाँच गरेका थिए ।पौराणीक रुपमै नेपाल र भारतबिचको सम्बन्ध रहेको अवस्थामा कालीगण्डकीको शिला मुख्य मुर्तिका रुपमा राख्न लैजानुले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने र कालीगण्डकीको महिमा बढाउन सहयोग पुग्ने देखिन्छ ।