पञ्चेबाजा संरक्षणमा आमासमूह
काेराेला पोस्ट पुस २६, २०७९ मंगलबार

म्याग्दी, २६ पुस । पञ्चेबाजा संरक्षणमा म्याग्दीको बेनी नगरपालिका– ४ सिंगाका आमासमूह जुटेका छन् । पञ्चेबाजाको अस्तित्व जोगाउन नव जागरण आमासमूह सिंगाले तीनबर्षदेखि नीरन्तर नौमती बाजा बजाईरहेका छन् । पछिल्लो युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र छन् । महिलाहरुले तीनबर्षअघि तालिमबाट पञ्चे बाजा बजाउन सिकेका थिए । अहिल्य उनीहरुलाई जिल्लाभित्र मात्र होईन बाहिरबाट माग गर्दा पञ्चेबाजाको महत्व बढेको छ ।

नवजागरण आमा समूहका आमाहरुले बजाउने नौमती बाजा गाउँघरमा मात्र होईन्, शहरबजारमा हुने विभिन्न कार्यक्रममा लोकप्रिय बन्दै आएको छ। पुरुषले मात्र होईन महिलाले पनि बजाउन र कलासस्कृति जोगाउन सक्छन् भन्ने उदाहरण नवजागरण आमासमूमह आवद्ध महिलाहरु बनेका छन् ।

सो समुहकी अध्यक्ष लक्ष्मी खत्रीले दमाह, रुक्सना रुचालले ट्याङकुली, मैना खत्रीले सनाह, विष्णु रसाईलीले नरसिङ, माया शर्माले कर्णाल, भगती आचार्य सुवेदीले झ्याली, दिलकुमारी बानियाँले दमाह, हिरा शर्माले सनाह बाजा बोक्छन् र बजाउछन् । उनीहरुलाई ताल सिकाउन सुरुवातदेखि प्रशिक्षकको रुपमा प्रकाश परियारले निरन्तर साथ दिईरहेका छन् ।

विवाह, व्रतबन्ध, मेलापर्व, चौरासी, लगायतको विभिन्न विभिन्न सभा समारोहमा नवजागरण आमासमुहले नौमती बाजा बजाउने गरेका छन् । उनीहरु जिल्लाभित्रमात्र होईन पोखरा, काठमाण्डौ पनि बाजा बजाउन पुगेको समुहकी अध्यक्ष लक्ष्मी खत्रीले बताईन ।

हामीले कार्यक्रमको नजिक र टाडा अनुसार दिनको हिसावले १० देखि ४० हजार रुपैयाँसम्म रकम लिने गरेका छौ,”– अध्यक्ष खत्रीले भनिन् । “हालसम्म करिव तीन सय ठाउँमा बाजा बजाउन पुगेका छौ । हामीले बजाउने बाजा नीरन्तर माग बढीरहेको छ। समुहमा पनि राम्रो आम्दानीको स्रोत बनेको छ । भने, परम्परागत पञ्जेबाजाको संरक्षण टेवा पुगेको अनुभव समुहले गरेको छ ।”

घरको कामलाई पनि सम्पन्न गरे समूहमा आवद्ध महिलाहरुले पञ्चेबाजाको पार, ब्याउली ल्याउने भित्र्याउने, सम्मान, स्वागत तथा सुरुवात, देउपृतिलाइ, नाच्ने ताल, विदाई लगायतको तालहरु प्रशिक्षकमार्फत सिकिरहेको खत्रीले बताईन । नेपाली संस्कृतिको परम्परागत नौमती बाजालाई संरक्षण र ब्यावसायिक रुपमा अघि बढाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।