म्याग्दी, ७ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार अनुगमन गरेको छ। कार्यालयले ब्यापारीले अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन अनुगमनमा भेटाएको हो ।
होटल, खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताउनुभयो । यसैगरी विभिन्न पसलबाट करिब दश हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ, ,वियर, विस्कृट लगायत खाद्य सामाग्रीहरु उपभोग्य अवधी समाप्त भएकोले जफत गरी नष्ट गरेको छ।
बुधबार १५ वटा खाद्य व्यवसाय (किराना, होटल र उद्योग) अनुगमन गरिएको छ । भने नमुना संकलन समेत गरिएको छ । ‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३,४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ,’ उहाँले भन्नुभयो ।
यसअघि पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र तत्कालिन घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले दरवाङ बजार अनुगमन गरेको थियो ।