‘राजनीति असल सेवा बनेन्’
काेराेला पोस्ट पुस ३, २०७९ आईतबार


म्याग्दी, ३ पुष । जनप्रतिनिधि तथा नेतामा राजनीतिको मूल्य मान्यताबारे थाहा नुहदाँ राजनीति असल सेवाको रुपमा विकास हुन नसकेको धारण राजनीति शास्त्रका प्रध्यापकले राखेका छन् । पोलिटिकल साईन्स सोसाईटी नेपाल( पोस्सोन) को आयोजनामा “शासन सञ्चालनमा जनप्रतिनिधिको भूमिका” बारे बेनीमा भएको अन्तरक्रियामा राजनीति शास्त्रका प्रध्यापकले जनताको चाहनाअनूरुप नेता र जनप्रतिनिधि राष्ट्र निर्माण गर्ने सोचले अघि बढ्न नसकेको धारण राखेका थिए ।

अन्तरक्रियामा अधिबक्ता चिरञ्जीवी शर्माले जनतामाथि शासन गर्ने कुर्चीमा दलाल, ठेगदार, भष्ट्रचारी पुगेको कारण राजनीति असल सेवा बन्न नसकेको धारणा राख्नुभयो । “राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कमजोर बन्दा म्याग्दीमा जनप्रतिनिधि न्यायलय, प्रशासन, सुरक्षानिकाय र कर्मचारीमा जवाफदेहिताको अभाव छ ।”– शर्माले भने –“न्यायालय र कार्यपालिकामा दलाल र ठेकदारको राजनीति पहुँच बढेपछि जनताले पाउने सेवा पाउन सकेका छैनन् ।”

समाजलाई चलाउने नीति राजनीति हो । राज्यको नीतिमा जनप्रतिनिधि प्रष्ट हुनुपर्छ । राजनीतिको मुल्य मान्यता बुझेको र सकारात्मक सोच भएको ब्यक्ति नेतृत्वमा आएमा राजनीति सफा हुने र समृद्ध समाज बनाउनमा मदत पुग्ने धारण धवलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक डा. दिल्लीराम गौतमले अन्तरक्रियामा राखे । “जनप्रतिनिधि अरुको निर्देशनमा भन्दापनि आफ्नो ज्ञानबाट अघि बढनुपर्छ ।”

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्रध्यापक डा. गिरधारी दाहालले समयअनुसार जनताको चाहना राजनीतिकर्मी र जप्रतिनिधिले बुझ्नुपर्ने बताए । जनप्रतिनिधिले जनताको इच्छा चाहन पुरा गर्न स्थानीय स्रोत साधनलाई प्रयोग गरेर आम्दानीको स्रोत बढाउने, रोजगारी सिर्जना गर्ने क्षमता राख्नुपर्ने धारण दाहालको थियो । प्रध्यापक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकेमा शासन गर्न सजिलो हुने बताउनुभयो ।

पृथ्वीनारायण क्याम्पसका सह–प्रध्यापक एवम् बरिष्ठ अधिवक्ता माधवप्रसाद बास्तोलाले राजनीति मूल्य मान्यता थाहा नभएको ब्यक्ति कुर्चिमा पुग्दा जनताको चाहनाअनुसार काम हुन नसकेको बताए । “राजनीति संस्कार बुझेको ब्यक्ति नेतृत्वमा पुगेमा जनताको चाहना अनुसार काम हुन्छ। तर, नेपालको राजनीतिमा जनताले आसा र भरोसा गरेको नेता र राजनीति दलले नेतृत्वमा पुगेर विश्वास र भरोसा जनतामाझँ गुमाएका छन् ।”– बास्तोलाले भने ।

राजनीति शास्त्रका सह–प्रध्यापक भिमनाथ पराजुलीले जनप्रतिनिधिले कानुन कार्यान्वयनमा ध्यान नदिदाँ स्थानीय तह संस्थागत रुपमा अघि बढ्न नसकेको बताए । “जनताको लोकतन्त्रलाई मजबुद बनाउन छलफल, बहसबाट निकास जनप्रतिनिधिले खोज्नुपछ ।” म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्माले जनताको सेवा गर्ने नेता र जनप्रतिनिधि प्राप्त गर्न दलभित्रको आन्तरिक लोकतन्त्र सुध्रिनुपर्ने बताए । मालिका गाउँपालिका– ५ की वडासदस्य तुलसी पुर्जाले राजनीतिक संस्कारको अभाव स्थानीय तहमा देखिएको बताईन ।

पोस्सोनको अध्यक्ष सुब्वा ढुङ्गाना ‘सुवास’को अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिका मेयर सुरज केसीले राजनीतिमा अरुलाई नराम्रो भनेर राजनीतिकर्मी बन्ने चलन बढेको बताए । ‘विरोधको रााजनीति सुधार गरेर सकारात्मक राजनीतिको विकास गर्नुपर्छ,’– केसीले भने ‘राजनीति शिक्षा बढाउदै जनप्रतिनिधिले गनुपर्ने कामहरुको पहिचान गनुपर्छ ।’ केसीले बेनीको मेयरलाई काठमाण्डौको मेयरसंग प्रतिस्पर्धी नबनाउन आग्रह गरे । काठमाण्डौ र बेनीको आयस्रोत फरक छ । आम्दानीको स्रोत कम हुदाँ जनताको चाहनाअनुसार काम गर्न ग्राहो हुने बताए ।

पोखरा पृथ्वीनारायण क्याम्पसमा पोलिटिकल राजनीति शास्त्र विभागमा अध्यापन गराउने प्रध्यापक र अध्ययन गर्ने विद्यार्थीहरुले राजनीतिप्रतिको सोचाईलाई फराकिलो बनाउने उद्देश्यले जनप्रतिनिधि र बौद्धिक बर्गको उपस्थितमा राजनीति र जनप्रतिनिधि भूमिकाबारे म्याग्दीमा अन्तरक्रिया गरेको थियो ।