गठबन्धनको विजयी उत्सवः ‘घरदैलोको क्रममा राखेका प्रतिवद्धता पुरा गर्छौ’
काेराेला पोस्ट मंसिर ९, २०७९ शुक्रबार

म्याग्दी ९ मंसिर । म्याग्दीबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा बिजयी भएका बाम–लोकतान्त्रिक गठबन्धले बेनीमा बिजयी उत्सव मनाएका छन । प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनु भएको छ । त्यसैगरि प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष समेत रहनु भएका ३८ वर्षीय युवा नेता हरी भण्डारी र प्रदेशसभा क्षेत्र (२) मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) बिजयी भएका छन् ।

गठबन्धनबा तीनै जना उम्मेदवार बिजयी भएपछि विहिवार बेनीमा गठबन्धनमा आबद्ध दलहरुले हजारौँको संख्यामा गाउँ गाउँबाट नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थितमा बाजागाजा सहित नाचगान गरेर ब बिजयी उत्सव मनाएका छन् । ¥याली पश्चात सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभामा निर्वाचित गर्वुजाले म्याग्दीमा थलिएका विकास योजनाहरुलाई ६ महिनाभित्र प्राथमिकता राखेर गति बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । ‘‘चुनावसम्म म गठबन्धनको उम्मेदवार थिएँ, जनताले मलाई अभिमत दिएर अब म्याग्दीको अविभावकीय भुमिका खेल्ने जिम्मेवारी दिनुभएको छ, सबै पक्षसंग सहकार्य गरि म्याग्दीको विकास र समृद्धिमा मेरो सबै शक्ति, पहुँच र सामथ्र्य खर्चिन्छु’’–गर्वुजाले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्यमा निर्वाचित रेशम जुग्जाली र हरी भण्डारीले समेत म्याग्दीलाई अहिलेको अवस्थाबाट विकसित बनाउन र जिल्लामा अलपत्र परेका विकास निर्माण योजनाहरुलाई गति बढाउनका लागि निरन्तर क्रियाशिल हुने प्रतिबद्धता जनाए । कार्यक्रममा संविधानसभा सदस्यद्धय गोविन्द पौडेल, रेशम बानियाँ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनमोर्चाका अध्यक्ष छवि विक, नेपाली काँग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य विनोद केसी लगायतले गठबन्धनका उम्मेदवारहरुलाई भारी मतका साथ बिजयी गराएकोमा मतदाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । आमसभाको सञ्चालन काँग्रेस जिल्ला सचिब भरत रकालले गरेका थिए ।