झिँ गाउँमा सिद्ध फूटस्टेप एण्ड पार्क बन्ने
Koralapost फाल्गुन ४, २०७७ मंगलबार


म्याग्दी, ४ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन प्रर्वद्धनका लागि देशभरका २ सय पर्यटकीय गन्तव्य छनौट गरेको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्दीको रघुगंगा गाउँपालिका– ५ भिंm गाउँलाई पर्यटकिय गन्तव्यमा छानिएको हो ।
धौलागिरी आईसफलसंग जोडिएको यस झिँ गाउँमा सिद्ध फूटस्टेप एण्ड पार्क बनाउने योजनाको लागत अनुमान १ करोड १ लाख रुपैयाँ रहेको छ । मन्त्रालयबाट ७० लाख र गाउँपालिकाबाट ३१ लाख रकममा १ बर्षभित्र सम्पन्न गर्ने योजनामा छनोट भएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित सुवेदीले बताए ।
घुचुप्प बस्ती रहेको झिँ गाउँमा पार्क र पिकनिकस्थल लगायतको संरचना निर्माण गरिने वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । धौलागिरी आईसफल र टोड्केसंग जोडिएको झिँ गाउँमा ३ सय ५० घरधुरी र मगरजातीको बसोबास रहेको छ ।
७ वटै प्रदेशका स्थानीय तहबाट प्रस्ताव आव्हान गरिएका मध्येबाट उक्त गन्तव्य छनौट गरेको हो । छनोट भएका गन्तव्यका लागि करिब ७ अर्ब रुपैयाँ स्वीकृत भएको सूची मन्त्रालयलले सार्वजनिक गरेको छ ।
सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायतका पूर्वाधार विकास गरिने जनाइएको छ । आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।